• १७ मङ्सिर २०८२, बुधबार

मुआब्जा माग गर्दै बजार बन्द

blog

सडक विस्तार गर्दा प्रभावित हुने घरजग्गा धनीले मुआब्जा माग गर्दै बन्द गरेको हेटौँडाको मुख्य बजार । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, मङ्सिर १७ गते । हेटौँडा बजार क्षेत्रका बासिन्दा व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सडक डिभिजन हेटौँडाले मङ्सिर ५ गते हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मको सडक विस्तार गर्ने सूचना जारी गरेसँगै स्थानीय आन्दोलित बनेका हुन् । 

घरजग्गा धनीले सडक विस्तार गर्नुपूर्व जग्गाको उचित मुआब्जा र क्षतिपूर्ति माग गर्दै मङ्गलबार पनि व्यवसाय बन्द गराएका हुन् । प्रभावित घरजग्गा धनीले आफूले भोगचलन गर्दै आएको जग्गाको मुआब्जा र क्षतिपूर्तिसँगै व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत अघिसारेका छन् । 

सडक डिभिजनले १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडकको दायाँबायाँ २५ गज विस्तार गर्ने भनेको छ । सडक विस्तारको तयारी तीव्र पारेपछि आव्रmोशित घरजग्गा धनीले त्यसको विरोधमा व्यवसाय बन्द गराएका हुन् । सोमबार र मङ्गलबार बिहानैदेखि घरधनीले प्रभावित क्षेत्रका व्यवसायीलाई व्यापार व्यवसाय बन्द गर्न आग्रह गर्दै हिँडेका थिए । सडक सीमाभित्र पर्ने घर भत्काउने सरकारी सूचनाको विरोध गर्दै स्थानीयले हेटौँडाको मुख्य बजार क्षेत्रमा प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका कारण हेटौँडा बजार क्षेत्रमा ट्राफिक समस्या उत्पन्न भएको थियो । 

बुद्धचोकमा कोणसभामा परिणत भएको उक्त प्रदर्शनमा बोल्दै पीडित घरधनीले राज्यले जनतालाई सुकुमवासी बनाउन नपाउने धारणा राखेका थिए । मङ्गलबार बजार बन्दपछि बुद्धचोकमा आयोजित कोणसभामा मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजकुमार न्यौपानेले घरजग्गा धनीले मुआब्जा र क्षतिपूर्ति तथा व्यवसायीको उचित व्यवस्थापनबिना सडक सीमा विस्तार गर्न नदिने बताउनुभयो ।  यस्तै घरजग्गा धनी सानु लामाले सडक विस्तारका नाममा गरिने अन्याय स्वीकार्य नहुने बताउनुभयो । सडक डिभिजन, हेटौँडाले बजार क्षेत्रमा सडक सीमा चौडा गर्न जारी गरेको पछिल्लो सूचना अदालतको फैसलालाई तोडमोड गरेर निकालेको प्रभावित घरजग्गा धनीले बताएका छन् । 

घरजग्गा धनीले दिएको रिट निवेदनउपर अदालतले गरेको फैसला कार्यान्वयन नै नगरी सडक डिभिजनले एकतर्फी सूचना जारी गरेर आतङ्क सिर्जना गरेको प्रभावित घरजग्गा धनीको आरोप छ । घरजग्गा धनीले मुख्य बजार क्षेत्रबाट राजमार्ग लैजानेभन्दा पनि विकल्प खोज्न आग्रह गरेका छन् ।