• १७ मङ्सिर २०८२, बुधबार

बिपी राजमार्गमा खाडलैखाडल

blog

बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्ड अन्तर्गत पिपलभन्ज्याङनजिक भत्किएको सडक । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर १७ गते  । अत्यधिक चाप र बढी भार भएका सवारीसाधन थेग्न नसक्दा बिपी राजमार्गको विभिन्न स्थानमा खाडल पर्न थालेको छ । 

समयमा मर्मतसम्भार नहुँदा गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त उक्त राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डबाहेक अन्य विभिन्न स्थानमा कालोपत्रे उप्किएर र भत्किएर ठुला खाडल बन्ने व्रmम बढ्दै गएको छ । अत्यधिक सवारी चल्ने र समयमै उचित मर्मतसम्भार नहुँदा दुर्घटना बढ्ने देखिएको सवारीचालकको भनाइ छ ।

दिउँसो यात्रुवाहक र राति अत्यधिक भार बोकेका मालवाहक सवारीको चापका कारण राजमार्ग तहसनहस बन्दै गएको कमलामाई नगरपालिका–४ का हरि रायमाझी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उकालो र बढी घुमाउरो सडक भएका कारण बिपी राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोटमा बढी खाल्टाखुल्टी परेको देखिएको छ । घुमाउरो राजमार्ग भएकाले यस खण्डमा जताततै खाडलै खाडल भएको छ ।”

उहाँका अनुसार बिपी राजमार्गमा १० टन भारवहन क्षमताका मालबाहक र १८ सिटसम्मका साना यात्रुवाहक सवारीसाधन मात्र चल्न पाउने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि अहिले त्योभन्दा बढी भारवहन क्षमताका गाडी चल्दै आएका छन् । लामो समयसम्म राजमार्ग मर्मत नहुँदा सवारीसाधनले खाल्टाखुल्टी छल्न खोज्दा दुर्घटनाको जोखिम बढेको हो ।

सिन्धुलीबाट काठमाडौँसम्म नियमित 

सवारीसाधनचलाउँदै आउनुभएका जिल्ला सदरमुकाम सिन्धुलीमाढी निवासी सवारीचालक दीपेन्द्र कार्कीले भन्नुभयो, “बिपी राजमार्गमा खाल्टाखुल्टी छलेर गाडी चलाउँदा अर्को गाडीसँग ठोक्किने डर पनि उत्तिकै हुन्छ । गाडी चलाउन सकेसम्म सजिलो बाटो नै खोज्छन् । अहिले बिपी राजमार्गमा खाल्टाखुल्टी बढ्दै जाँदा गाडी चलाउन हैरान नै छ ।”

राजमार्गको निर्माण सम्पन्नसँगै अत्यधिक सवारी चाप र समयमा नै सडक मर्मतलाई ध्यान नदिँदा पर्यटकीय राजमार्गका रूपमा रहेको बिपी राजमार्ग कुरूप बन्दै गएको उहाँको बुझाइ छ । उहाँका अनुसार अहिले धेरैजसो स्थानमा कालोपत्रे उप्किएर सडक भत्किएको छ । भत्किएको सडकमा यात्रा गर्दा यात्रुले पनि सास्ती खेप्नु परेको छ । सडक आयोजनाले समयमा मर्मतसम्भार नगर्दा चाडबाडको समयमा झन् सास्ती बेहोर्नुपरेको उहाँको अनुभव छ । सिङ्गल लेनको सडकमा खाल्डैखाल्डा भएकाले मोटरसाइकलको यात्रा झन् कठिन हुने गरेको स्थानीय बताउँछन् । पूर्वी तराईलाई राजधानीसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्गमा सवारी चाप बढ्दो छ । 

सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार बिपी राजमार्गको सिन्धुलीमाढीदेखि खुर्कोटसम्म खाल्टाखुल्टी पुरेर मर्मत गर्न अहिले करिब ६० लाख रुपियाँमा ठेक्का लागेर काम सुरु भएको छ । बर्दीबासदेखि सुरु भएको काम अहिले बुका पुलसम्म आइपुगेको छ । अब माझीटारदेखि सोलाभन्ज्याङसम्म एक÷दुई दिनमा नै काम सुरु हुने सो कार्यमा खटिनुभएका प्राविधिक नवीन चौलागार्इं बताउनुहुन्छ । योबाहेक एसियाली विकास बैङ्कको १५ करोड रुपियाँ सहयोगमा उक्त राजमार्ग 

अन्तर्गत खुर्कोटदेखि फिटिङपुलसम्म पूरै राजमार्ग कालोपत्रे थपेर मर्मत गर्न ठेक्का खुलिसकेको उहाँले जानकारी दिनुभयो ।