ललितपुर, मङ्सिर १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च राख्न योगदान पुर्याउने राष्ट्रिय विभूति कलाकार अरनिकोकाे जन्मस्थललाई प्रचारप्रसार गरिनुपर्नेमा जोड दिनुभएको छ ।
सञ्चारमन्त्री खरेलले आज ललितपुर महानगरपालिका वडा नं. ६ कनिबहाल पुगेर अरनिकोकाे जन्म भएको महत्त्वपूर्ण ऐतिहासिक स्थललाई प्रचारप्रसार गर्न आग्रह गर्नुभएको हो ।
उहाँले कनिबहालस्थित वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको स्थलगत अवलोकन गर्नुभएको थियो ।
सञ्चारमन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको महत्त्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई समेत आकर्षित गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“चीनसम्म पुगेर मूर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पुर्याउनुभएको योगदान अतुलनीय छ, हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझ कार्यले अत्यन्तै महत्त्वपूर्ण सम्पदाहरु बनेका छन् ती सम्पदाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्छ।”
मन्त्री खरेलले १३ औं शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो ।
सम्पदा क्षेत्र अवलोकनका क्रममा मन्त्री खरेलले जनतालाई दैनिक प्रभावकारी सेवा दिने सरकारी कार्यालय वडा हो भन्दै सङ्घीय मन्त्रीले पनि वडा अध्यक्ष र कार्यालयलाई समन्वय र सहकार्य गर्ने नै हो भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले सम्पदा क्षेत्रको अवलोकन तथा जानकारी लिँदै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सहजीकरणका लागि आग्रह गर्नुभयो । उहाँले मूर्त सम्पदा संरक्षणका लागि रकम उपलब्ध गराउन पनि सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
अध्यक्ष शाक्यले अरनिकोको जन्म यही वडामा भएको जानकारी गराउँदै वडाको विशेषता धातु र मूर्तिकलाको उद्यम र व्यापारको हब भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष शाक्यले यस क्षेत्रका सांसदलाई नै भेट्न कठिनाइ भइरहेको अवस्थामा सङ्घीय मन्त्रीलाई भेटेर आफ्नो कुरा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।