• १५ मंसिर २०८२, सोमबार

दाङमा चार सय ७१ एचआइभी सङ्क्रमित

blog

विश्व एड्स दिवसका अवसरमा घोराहीमा आयोजना गरिएको सचेतना कार्यक्रमका सहभागी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, मङ्सिर १५ गते । दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

चालु आर्थिक वर्षको चालुआर्थिक वर्षको पाँच महिनामा जिल्लामा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएसँगै जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या चार सय ७१ जना पुगेको स्वास्थ्य कार्यालय दाङ एचआइभी कार्यक्रमका फोकल पर्सन कुन्दन ठाकुर जानकारी दिनुभएको छ । एचआइभी कार्यक्रमका फोकल पर्सन ठाकुरका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९-०८० मा ३६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका थिए । त्यसैगरी आर्थिक वर्ष २०८०-०८१ मा  ४२ जना र आव २०८१-०८२ मा ३७ जना नयाँ सङ्क्रमित भेटिएका थिए । 

नयाँ थपिने क्रम नरोकिएसँगै दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । आर्थिक वर्ष २०७९-०८० मा दाङमा तीन सय ९४ सङ्क्रमित रहेकोमा आर्थिक वर्ष २०८१-०८२ मा सङ्क्रमितको सङ्ख्या चार सय ५८ पुगेको थियो । जिल्लामा एचआइभी सङ्क्रमितले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।

जिल्लामा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरूमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गीहरू र रोजगारीका लागि विदेश गएर फर्किएकाहरू रहेको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार परिक्षण गर्ने सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या बढेको बताउनुभयो । जिल्लामा २०८२ मा एड्सबाट सङ्क्रमित दुई जना गरेर हालसम्म एचआइभी एड्सबाट ७६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

यसैबिच ३८ औँ विश्व एड्स दिवस–२०२५ का अवसरमा घोराहीमा आयोजना गरिएको कार्यक्रमका सहभागीले एचआइभी एड्सबाट बच्नका लागि स्वास्थ्य सेचतनासँगै सावधानी आवश्यक रहेको बताएका थिए । ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने मुल नाराका साथ दाङको घोराहीमा एचआइभी÷एड्सबारे सूचना–शिक्षा सामग्री प्रदर्शनी तथा जोखिम रोकथाम, उपचार सेवा र सामुदायिक भूमिकामाथि केन्द्रित विस्तृत छलफल कार्यक्रमका सहभागीले एचआइभी एड्सका बारेमा सचेतना आवश्यक रहेकोमा जोड दिनुभएको थियो । 

स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका शाखा प्रबन्धक वसन्त खनालले जिल्लामा एचआइभी-एड्सको अवस्था, सङ्क्रमण विस्तारका कारण, जोखिम समूह, रोकथामका वैज्ञानिक उपाय, उपचार सेवाको उपलब्धता तथा सङ्क्रमण न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिकस्तरमा चाल्नुपर्ने पहलका बारेमा जानकारी गराउनुभएको थियो ।