कर्णालीको कथा हो । एउटा घनघोर जङ्गलको नजिकै एक जना गोठालो बस्थ्यो । साथमा कुकुर पनि थियो । खाना खाइसकेपछि ऊ जङ्गलमा भेडा चराउन जान्थ्यो । हिउँदको समय थियो । गोठालोले भेडा निकाल्यो र जङ्गलतिर लाग्यो । जङ्गल सुनसान थियो । चिसो हावा चलेको थियो । भेडालाई जङ्गलमा चर्न छोड्यो । जाडोका कारण दुई हातलाई काखीमुनि च्यापेर एउटा ढुङ्गामाथि बस्यो । अचानक एक जना बुढी आमा झाडीबाट निस्किन् र मायालु स्वरमा भनिन्, ‘बाबु यहाँ के गर्दै छौ ? जाडो भयो होला, आउ मेरो खरकमा, आगो बालेको छ । हात तताउ । ज्यान तातो भएपछि बाहिर आउला ।’ गोठालोलाई जाडो भइरहेको थियो र उसले तुरुन्तै हुन्छ भन्यो । बुढी आमा अगाडि हिँडिन्, गोठालो पछि पछि लाग्यो । गोठालोको कुकुरले बुढी आमाको चालबाट थाहा पायो कि उनी साँच्चिकै मानिस होइनन् । उनी मानिसको मोहनी रूप हुन् । कुकुर बेजोडले भुक्न थाल्यो । कुकुरको बानी गोठालोलाई असामान्य लाग्यो । गोठालोले पछाडिबाट बुढी आमाको खुट्टा हे¥यो । खुट्टा त मानिसको जस्तो नभएर कुनै हिंस्रक जनावरको जस्तो थियो । हेर्दाहेर्दै बुढी आमा त अनौठो आकृतिमा परिणत भइन् । पूरै जिउ रौँ नै रौँले ढाकिएको, आँखा रातो आगोको फोहोरा जस्तो, कोदालो जस्ता दाँत बाहिर निस्किएको रूप अगाडि ठडियो । यस्तो रूप देखेर गोठालो डरायो र कुकुरलाई अगाडि पठायो । कुकुर त्यो अजङ्गको रूपसँग भिड्दै थियो, गोठालो निकै टाढा भाग्यो र आफ्नो ज्यान बचायो ।
आजकाल हाम्रो समाजमा पनि यस्ता मानवरूपी दानवको छद्म रूप अलि बढी नै देखिन थालेको छ । पछिल्लो समयमा मानिस भएर पनि मानवता गुमाएकाहरूको उदय भएको छ । मर्यादा बिर्सेर समाजमा आफ्नै नातागोतालाई दुःख दिन थालेका छन् । मौका छोपेर निर्मम यातना दिने, दुष्कर्म गर्ने, यातनापछि मार्ने काम मानवबाटै हुन थालेको छ । गएको साउन महिनामा दैलेख जिल्लामा १३ वर्षकी बालिकामाथि आक्रमण ग¥यो । ४२ र ४३ वर्षका दुई जनाले नाबालिकालाई लखेटीलखेटी समाते र पालैपालो बलात्कार गरे । बलात्कारपछि हत्या गरेर फ्याँकी दिए । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त पनि यस्तै दानवको पञ्जाबाट फुत्किन सकिनन् । उनको हत्यारा अझै पत्ता लाग्न सकेन । गएको जेठ १४ गते सुजन कोइराला नामका त्यस्तै व्यक्तिले पूर्वपत्नी दिपा बस्याल र दुई जना छोरीलाई (चार र सात वर्षका) घरैमा बोलाएर हत्या गरे । आफैँले जन्माएको सन्तानलाई चक्कुले चिरीचिरी र हतौडाले हानी हानी मा¥यो । योभन्दा पहिले पनि आफ्नै दाजुको हत्या गरेर जेल सजाए भोगिसकेको थियो ।
यही साउन १८ गते पर्सामा जितन माझीले आफ्नै २४ वर्षीया पत्नी अस्पतालिया देवीको घरभित्रै घाँटी थिचेर हत्या गरे । भोजपुरमा साउन महिनाको ९ गते राजेन्द्र राईले १७ वर्षकी पत्नी मनीषा देवी, उनका आमा, बुवा र नौ वर्षका भाइको घरभित्रै सामूहिक हत्या गरे । हत्यापछि साहसपूर्वक प्रहरीलाई भन्यो, “मैले मान्छे मारेँ, मलाई समात्न आउ ।” कति साहसी । यी भनेका मानवरूपी कलङ्क हुन् । समाजका लागि दुश्मन पनि हुन् । सत्रुजीव हुन् । यस्ता अमानवीय कार्यबाट मानवताको मूल्य र कानुनको अवहेलना हुन्छ । कानुनी राज्यमा यस्ता प्रकृतिका घटना दोहोरिरहनु शोभनीय हुँदैन । कानुनी व्यवस्थामा सजाय छ भन्ने थाहा पाउँदा पाउँदै पनि यस्ता घटनाले निरन्तरता पाइरहेका छन् । यस्ता निन्दनीय कार्य दोहोरिनु हामीले अवलम्बन गरेको कानुनमा तोकिएको सजाय उनीहरूका लागि कम पो भएको हो कि ?
यस्ता निन्दनीय किसिमका घटना समाजमा भइरहने हो भने समाज र परिवारलाई दीर्घकालीन र बहुआयामिक असर पर्छ । व्यक्तिगत रूपमा मानसिक र शारीरिक आघात पर्न जान्छ । पीडितले सधैँभरि डर र त्रासको जिन्दगी जिउनुपर्ने हुन्छ । यौनजन्य रोगको सङ्क्रमण हुन सक्छ । शारीरिक चोटपटकले अङ्ग भङ्ग भई काम गर्न र सक्षम नागरिक बन्नमा बाधा पुग्छ । अनिच्छित गर्भाधारण हुन सक्छ । जसबाट सामाजिक कलङ्क, समाजले उल्टैपीडितको पीडामाथि पीडा थपिदिन्छ र यही कारण ऊ न्यून आत्मविश्वासका कारण डिप्रेसनको रोगी हुन्छ । आत्महत्या गर्न तत्पर हुन्छ र ज्यान गुमाउँछ । पारिवारिकस्तरमा पीडितमाथि विश्वास र सुरक्षाको भाव नष्ट हुन्छ । छोरी दिदीबहिनीलाई सुरक्षाको कारण पढाइ लेखाइको वातावरण बन्द हुन्छ । घरबाट निस्किन बन्देज लगाइन्छ । महिलाको स्वतन्त्रता र रोजगारीमा रोकावट आउँछ । पीडितको परिवार नै सामाजिक बहिष्करणमा पर्छ । सामाजिक निन्दाको सिकारको सामना गर्नुपर्ने हुन्छ । बाहिरी मुख मिलाए पनि आन्तरिक रूपमा त्यो परिवारप्रतिको समाजको सोच नै भिन्न हुन्छ । सामाजिक काममा सहभागी गराउन चाहन्न । महिला वर्ग स्वयम् पनि सार्वजनिक स्थलमा, विद्यालयमा र कार्य क्षेत्रमा असुरक्षित मुहसुस गर्छन् ।
पीडितले न्याय नपाउँदा न्याय प्रणालीप्रतिको विश्वास घट्न जान्छ । कतिपय मुद्दा लोकलाजको डरले न्यायालयमा पुग्दैनन् । पुगिहाले भने पनि कतिपय मुद्दा दर्ता नभई दण्डहीनतामा टुङ्गिन्छन् । दर्ता भइहाले भने पनि अनुसन्धानमा ढिलाइका कारण पीडितको धैर्य टुट्न जान्छ । कतिपय मुद्दाका प्रमाण सङ्कलन नगरी नष्ट हुन्छन् भने कमजोर प्रमाण मात्रै भेटिन्छन् । त्यसैमाथि राजनीतिक दबाब हाबी हुन्छ, जसले गर्दा न्याय अवरुद्ध हुन्छ । महिलालाई कमजोर वा सुरक्षा चाहिने प्राणीको रूपमा हेर्ने गलत धारणा बलियो हुँदै जान्छ । लैङ्गिक विभेद बलियो हुन्छ । कमजोर वर्गले माथि उठ्ने हैसियत राख्न बन्द गरिदिन्छ । समाज सुदृढ हुन सक्दैन । सामूहिक रूपमा समाजले महिलाको आवाज दबाउने वा चुप लगाउने प्रवृत्ति बढ्छ । लैङ्गिक समानता नाम मात्रको रहन्छ । मानव अधिकार र न्याय प्रणालीमा चुनौती आउँछ ।
यस्तो आतङ्क रोक्ने नै हो भने सामाजिक चेतना बढाउन आवश्यक हुन्छ । सामाजिक चेतना त भनाइ मात्रै हो, यसका लागि नीतिगत सुधार र कडा कानुन नै आवश्यक पर्छ । विद्यालय तहदेखि नै पाठ्यक्रम तथा पाठ्यपुस्तकमा लैङ्गिक र नैतिक शिक्षामा जोड दिनै पर्छ । महिला तथा कमजोर वर्गका लागि आत्मरक्षा तालिम चाहिन्छ । सामाजिक ऐक्यबद्धताले अहम् भूमिका खेल्छ । नागरिक आन्दोलन र महिला आन्दोलनले समाजमा महिलाप्रति समर्थन र सहानुभूति बढाउँछ । दबाबको कारण मुद्दालाई सशक्त बनाउन बल पुग्छ । यसमा मिडियाको पनि सकारात्मक भूमिका र सहयोग आवश्यक छ । बलात्कार केवल व्यक्तिगत अपराध होइन । यो समाजकै संरचना, मूल्य र न्याय प्रणालीलाई चुनौती दिने घटना हो । यसले सुरक्षाभाव, विश्वास र सामाजिक ऐक्यबद्धतालाई कमजोर बनाउँछ । सही शिक्षा, कानुनी कडाइ, सचेतना र पीडितमैत्री प्रणालीले यसका नकारात्मक असरलाई घटाउन सकिन्छ ।