गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १० गते । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितियासँग श्रीलङ्कामा हवाईसेवा विस्तार गरेर दुई देशबिच पर्यटक आवागमन बढाउने प्रस्ताव गरेको छ । चेम्बरका प्रतिनिधि र राजदूत डेल्पितियाबिच भएको भेटमा देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको हो ।
सो क्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र श्रीलङ्काबिचको व्यापार वार्षिक औसतमा मुस्किलले २५ लाख अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताउनुभयो । नेपालले १४ लाख डलर बराबरको वस्तु आयात गर्दा सात लाख डलरको मात्रै निर्यात गरिरहेको उहाँले जानकारी दिनुभयो ।
दुवै देशका चेम्बर प्रतिनिधिबिच दुईपक्षीय भेटवार्ता, हवाईसेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूतसमक्ष चेम्बरले प्रस्ताव गरेको थियो । चेम्बरले सातामा कम्तीमा एउटा उडान श्रीलङ्का–लुम्बिनी एवं लुम्बिनी–श्रीलङ्का सिधा हवाईसेवा सञ्चालन गरेर पर्यटक आकर्षित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलङ्काका बौद्ध धर्मावलम्बीलाई नेपालमा आकर्षित गर्न सकिने अध्यक्ष अग्रवालले बताउनुभयो ।
यस्तै श्रीलङ्का भ्रमणका लागि जाने नेपाली पर्यटकलाई फ्री भिसाको व्यवस्था गर्नसमेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत डेल्पितियाले नेपालसँग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफूले पहल गरिरहेको बताउनुभयो । श्रीलङ्कामा आगामी जुनमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारीसमक्ष उहाँले आग्रह गर्नुभयो ।