राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) मङ्सिर १० गते । स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित स्याङ्जाको वालिङमा ‘सडक खाना महोत्सव’ हुने भएको छ । वालिङ नगरपालिकाले यही मङ्सिर १७, १८ र १९ गते आँधीखोला करिडोरस्थित पतन्जली, खेलमैदान–सुर्कौदी पुलसम्मको सडक क्षेत्रमा पहिलो पटक महोत्सव गर्न लागिएकोे प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो ।
नगरप्रवक्ता तथा वडा नं. १ वडा अध्यक्ष पदमराज गुरुङले महोत्सवको बारेमा जानकारी गराउनु हुँदै स्थानीय परिकार, स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने पालिकाको योजना रहेको बताउनु भयो । वालिङमा पहिलो पटक आयोजना हुन लागेको महोत्सवमा जातिय भेषभुषा, संस्कृतिको प्रस्तुति स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने गुरुङको भनाइ छ ।
सडक खाना महोत्सवका लागि आगामी मङ्सिर १५ सम्मा स्टल बुकिङ गर्न नगरपालिकाले आव्हान गरेको छ । तोकिएको ठाउँमा स्टल राख्न पाइने र यसका लागि प्रतिदिन रुपियाँ पाँच सय शुल्क तोकिएको नगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धन गर्न सहयोग पुग्ने नगर उपप्रमुख तथा सडक खाना महोत्सव–२०८२ का संयोजक कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिकाका १४ वटै वडामा उत्पादन भएका बस्तुहरुको पहिचान गरि बजारीकरण गर्ने पालिकाको योजना छ ।” पालिकाले विगत केही वर्षदेखि स्थानीय उत्पादनमा जोड दिँदै आएको उहाँको भनाइ छ ।