• १० मंसिर २०८२, बुधबार

वनगाड कुपिण्डेमा १५ शय्याको नगर अस्पताल सञ्चालन

blog

सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले सञ्चालनमा ल्याएको १५ शय्याको आधुनिक नगर अस्पताल । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १० गते ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले १५ शय्याको आधुनिक नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । वनगाड कुपिण्डे–१ देवस्थलस्थित सल्लीबजारमा निर्माण गरिएको नगर अस्पताल कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जाजरकोट–डोल्पा सडक खण्डको केन्द्रमा पर्ने भएकाले यसले स्थानीयवासीसँगै यात्रु तथा आसपासका क्षेत्रका बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले अस्पतालमा दुई विशेषज्ञ चिकित्सकसहित २४ घण्टा स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकार र स्थानीय तहबाट आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन गरी सेवा प्रभावकारी बनाइने छ ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले अस्पतालमा आधारभूत सेवालगायत विशेषज्ञ तथा ल्याब सेवा नियमित उपलब्ध गराइने बताउनुभयो। “कर्णाली प्रदेश अस्पताल, मेडिकल कलेज नेपागञ्जलगायत स्वास्थ्य संस्थासँग सहकार्य गरी समय–समयमा विशेषज्ञ सेवा विस्तार गरिनेछ,” उहाँले भन्नुभयो । सेवाग्राहीको चाप र आवश्यकताअनुसार थप सेवा सञ्चालन गर्ने योजनासमेत उहाँले प्रस्तुत गर्नुभयो ।

नगर अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्नुभएको हो । मन्त्री भण्डारीले कर्णाली प्रदेशका सबै स्थानीय तहमा मेडिकल अधिकृतको व्यवस्था गर्दै स्वास्थ्य बीमाको पहुँच पनि सर्वसाधारणसम्म विस्तार गरिने बताउनुभयो ।

“राजनीतिक आस्थाभन्दा माथि उठेर जनताका लागि आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्नु सरकारले निर्वाह गर्नुपर्ने दायित्व हो,” मन्त्री भण्डारीले भन्नुभयो । अस्पताल सेवालाई प्रभावकारी बनाउन आर्थिक तथा प्रशासनिक नियमावली कार्यान्वयन गरी सेवा सुधार प्रक्रिया अघि बढाइने पनि उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रबाट भइरहेको बसाइसराइ रोक्न स्वास्थ्य, शिक्षा र रोजगारी प्रमुख आधार भएको उल्लेख गर्दै मन्त्री भण्डारीले सबै तहका सरकारका समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य भिमप्रकाश शर्माले नगर अस्पताल सञ्चालनसँगै स्थानीय समुदायलाई सामान्य उपचारका लागि बाहिर धाउनुपर्ने आवश्यकता घट्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले सल्यानको स्वास्थ्य क्षेत्र सुधारका लागि सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उद्घाटन समारोहमा उपप्रमुख पुरुषोत्तम आचार्य, निवर्तमान नगरप्रमुख गोविन्द कुमार पुन, बैंक तथा कार्यालयका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र स्थानीयवासीको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष जीवनसिँह ठकुरीले सञ्चालन गर्नुभएको थियो ।