• १० मंसिर २०८२, बुधबार

‘चुनावका लागि दलहरू तयार’

blog

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दल तयार भइसकेको बताउँदै अब मुलुकमा निर्वाचनको वातावरण बनेको दाबी गर्नुभएको छ ।

मन्त्री खरेलले मङ्सिर ८ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय मङ्गलबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सार्वजनिक गर्दै त्यस्तो बताउनुभएको हो । राजनीतिक दलले गाउँ, टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचनलक्षित कार्यक्रम गरिरहेको बताउँदै उहाँले अब राजनीतिक दल चुनावका लागि तयार भइसकेको जिकिर गर्नुभयो । नेकपा (एमाले) तर्फ इङ्गित गर्दै सञ्चारमन्त्री खरेलले भन्नुभयो, “जुन राजनीतिक दलले चुनावमा सहभागी हुँदैनौँ कि भने जस्तो आशङ्का लागेको थियो । उहाँहरूले पनि निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलका तर्फबाट बनिसक्यो ।” संसद् पुनस्र्थापनाको माग गर्दै आएको नेकपा (एमाले) मङ्गलबार निर्वाचन आयोगमा दर्ता भएको छ । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचन आयोगले धमाधम काम अगाडि बढाएको छ । महत्वपूर्ण प्रायः सबै राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । 

आमजनता चुनावमा होमिसकेको बताउँदै उहाँले भन्नुभयो, “आठ लाखभन्दा बढी मतदाता नामावली दर्ता भइसकेपछि जनता निर्वाचनमा होमिसके । निर्वाचनको प्रयोजनका लागि सुरक्षा योजना तयार भई तत्तत् निकायमा पठाइसकिएको छ र कार्यान्वयन हुने अवस्थामा छ ।” अब चुनावको वातावरण झन् प्रगाढ र थप स्पष्ट बन्दै गएको चर्चा गर्दै उहाँले चुनावको माहोललाई थप अगाडि बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

समन्वय गर्न समिति गठन

मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन,  समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्ग मिटर २० रुपियाँबाट घटाई प्रतिवर्ग मिटर पाँच रुपियाँ कायम गर्ने निर्णय गरेको हो ।

त्यसै गरी बैठकले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएकाको उपचार र राहतलाई प्रभावकारी  बनाउन गठित समन्वय समिति तथा गृह मन्त्रालयको ‘हेल्प डेक्स’ मा काम गर्ने बढीमा १० जना सदस्यलाई मासिक १५ हजार रुपियाँका दरले बढीमा चार महिनाका लागि खाजा तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

संरक्षित क्षेत्रभित्र पेट्रोलियम पाइपलाइन, पर्यापर्यटन र स्थानीय जनताको जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानी, बाटोघाटो, पुलपुलेसा, सिँचाइ, सञ्चार, सार्वजनिक यातायात, विद्युत् प्रसारण लाइन, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा र सुविधासँग सम्बन्धित कार्यका लागि मात्र वातावरणीय अध्ययन सहमति, स्वीकृति तथा राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने वा सट्टा भर्ना जग्गा लिने प्रक्रिया प्रचलित कानुनबमोजिम वन तथा वातावरण मन्त्रालयले अगाडि बढाउने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको हो । 

मन्त्रीपरिषद्ले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा मङ्सिर १५ देखि १९ गतेसम्म चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसम्बन्धी कार्यक्रममा सचिव (विज्ञान प्रविधि) विश्वबाबु पुडासैनीलाई सहभागिताका लागि स्वीकृत गरेको हो ।

त्यसै गरी राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीको यही मङ्सिर १० गतेदेखि हुने अवकाश स्वीकृत तथा नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेस गर्नुभएको राजीनामा स्वीकृत गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।