• ९ मंसिर २०८२, मङ्गलबार

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर  ९ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर ४५७ दशमलव ५३ अङ्कमा पुगेको छ । मङ्गलबार बजारमा नेप्से परिसूचक सामान्य बढेपनी कारोबार रकम भने घटेको छ । आज कूल ३१९ कम्पनीका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा खरिद बिक्री भएको छ । सोमबार कुल रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये विकास बैङ्क, जीवन बिमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटेका छन् । त्यस बाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा धेरै होटल तथा पर्यटनको उपसूचक एक दशमलव ४१ प्रतिशतले बढेको छ ।

आज बन्दीपुर केवलकारको शेयर रु २६ करोड ९९ लाख ९७ हजार ६४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धी भइ सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी लिमिटेड र श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले शेयरमूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए । रासस