• ९ मंसिर २०८२, मङ्गलबार

फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ-२२’ प्रक्षेपण

blog

बेइजिङ, मङ्सिर ९ गते । चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षितरुपमा घर फर्काउन सहयोग पुर्याउने उद्देश्यले मङ्गलबार ‘शेन्जोउ–२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

क्षतिग्रस्त अन्तरिक्ष यानका कारण ती अन्तरिक्ष यात्री चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फसिरहेका थिए । ती अन्तरिक्ष यात्रीले सन् २०२६ को नोभेम्बर १ मा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक गरेका थिए र अहिले फिर्तीका लागि यही नयाँ प्रक्षेपित ‘शेन्जोउ-२२’ को प्रयोग गर्ने छन् ।

यसअघि शेन्जोउ-२० मिसनका अन्तरिक्ष यात्रीले आफ्नै यानको झ्यालमा क्षति पुगेपछि पृथ्वी फर्कने यात्रामा नौ दिनको ढिलाइ सहनु परेको थियो । अन्ततः उनीहरू ‘शेन्जोउ-२१’ प्रयोग गरेर फर्किए । सोही यानले हालै प्रतिस्थापन चालक दललाई तियाङ्गोङमा पुर्याएको थियो ।

तीन सदस्यीय चालक दल पृथ्वीमा सुरक्षित अवतरण गरेपछि प्रतिस्थापनका रूपमा त्यहाँ पुगेका अर्को तीन जना अन्तरिक्ष यात्री आपतकालीन अवस्थामा फिर्तिने सुनिश्चित मार्गविनै अस्थायीरूपमा स्टेशनमै रहनुपरेको थियो । राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार क्षति भएको ‘शेन्जोउ-२०’ यान अहिले अन्तरिक्षमै रहेको छ र यसलाई पृथ्वीमा फर्काएर विस्तृत मूल्याङ्कन गरिने छ । 

मूल्याङ्कनपछि उक्त यानले अन्तरिक्ष यात्रीको सुरक्षित यातायातका आवश्यक मापदण्ड पूरा नगरेको पुष्टि भएको छ । चिनियाँ अन्तरिक्ष कार्यक्रमले पछिल्ला वर्षहरूमा तीव्र प्रगति गरेका मिशनमार्फत तियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई मोड्युल-मोड्युल विस्तार गर्दै आएको छ । उक्त कार्यक्रम चीनको सेनाद्वारा नियन्त्रित भएकाले अमेरिकाको सुरक्षा चिन्ताका कारण चीन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सहभागी हुन नसकेको बताइन्छ । 

त्यसपछि चीनले आफ्नै तियाङ्गोङ स्टेशन विकास गरेको हो । ‘स्वर्गीय दरबार’ अर्थ भएको तियाङ्गोङ सन् २०२१ मा पहिलो टोलीलाई स्वागत गर्दै सञ्चालनमा आएको थियो । आकारमा यो २५ वर्षदेखि सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा सानो भए पनि चीनका लागि रणनीतिकरूपमा महत्वपूर्ण परियोजना मानिन्छ । रासस/एपी