- राष्ट्रियताको मर्म केवल भूगोलमा सीमित हुँदैन, यो त देशको भाषा, संस्कृति, रीतिरिवाज र विविधतामा जीवित रहन्छ । नेपाल अनेकौँ जातजाति, भाषाभाषी, धर्म र संस्कारको एक सुन्दर बगैँचा हो ।
- भाषा जोगाउनु भनेको हाम्रो मौलिक ज्ञान र पहिचानलाई जोगाउनु हो । त्यस्तै यहाँका विभिन्न जातजाति, संस्कार, धर्म, रीतिरिवाज पढ्नु र बुझ्नु भनेको एकले अर्कालाई सम्मान गर्नु हो । यो सद्भाव नै हाम्रो राष्ट्रिय शक्तिको मूल आधार हो ।
- हामीले संस्कार जोगाउनु पर्छ भन्नुको अर्थ पुरातनवादी बन्नु होइन, बरु हाम्रो नैतिक, सामाजिक र मानवीय मूल्यलाई समयसापेक्ष परिमार्जन गर्दै संरक्षण गर्नु हो । यो विविधता नै हाम्रो राष्ट्रिय पहिचानको मुकुट हो, जसले हामीलाई विश्वसामु एक विशिष्ट र मौलिक राष्ट्रको रूपमा स्थापित गर्छ ।
जब बिहानीको सूर्य हिमालको टाकुरामा ठोकिन्छ र पहिलो किरणले हाम्रो माटोलाई स्पर्श गर्छ, तब हामी नेपालीले एउटा शाश्वत प्रश्नको सामना गर्नु पर्छ– हाम्रो यात्राको दिशा कुन हो ? के हामीले आफ्नो मौलिक पहिचान बिर्सेर अरूको पदचाप पछ्याइरहनु पर्छ ? यो ज्ञानको द्रुत प्रवाह भएको युग हो, जहाँ विश्वका विचारहरूले हरेक मनलाई प्रभावित गर्न खोज्छन् । कसैले कार्ल माक्र्स र माओका कठोर दर्शनमा मुक्ति देख्छन्, कसैले गान्धीको अहिंसात्मक बाटोलाई पछ्याउँछन् । विश्वका यी महान् चिन्तकका विचारलाई अध्ययन गर्नु ज्ञानका लागि अवश्यै महìवपूर्ण छ तर हाम्रो धरातलीय यथार्थ र हाम्रो गन्तव्यको मार्गचित्र कोर्न हामीले आफ्नै घरको दियो बाल्नु अपरिहार्य छ । हामीलाई थाहा हुनु पर्छ कि हाम्रो जीवनको गहिराइ, हाम्रो मानवीय भावनाको जग र हाम्रो सामाजिक सद्भावको मूल स्रोत हामीभित्रै, हाम्रो प्राचीन सभ्यतामा छ ।
हाम्रो गौरवशाली पूर्वीय दर्शनले हामीलाई दिएका अमूल्य सूत्रहरू विश्वका कुनै पनि आयातित दर्शनभन्दा कम छैनन्, बरु मानवीय भावनामा बढी उत्कृष्ट छन् । ‘वसुधैव कुटुम्बकम्’ को घोषणाले संसारलाई एउटै परिवार ठान्ने उच्चतम सहिष्णुताको पाठ पढाउँछ । यो कुनै भौगोलिक वा राजनीतिक सीमाले बाँधिएको सङ्कीर्ण विचार होइन, यो त विश्व भाइचारा र शान्तिपूर्ण सहअस्तित्वको आधारभूत दर्शन हो । त्यस्तै, जब हामी निष्काम भावले ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्) भनी कामना गर्छौं, तब त्यहाँ स्वार्थको कुनै स्थान बाँकी रहँदैन; यो सर्वव्यापी कल्याणको चाहना नै हाम्रो मानवीय भावनाको सर्वोच्च अभिव्यक्ति हो । भौतिक दर्शनहरूले वर्ग–सङ्घर्ष र द्वन्द्वको कुरा गर्दा, हाम्रा यी दर्शनले समन्वय, सद्भाव र सार्वभौम कल्याणको मार्ग देखाउँछन् । अझ ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ को प्रार्थनाले हामीलाई अज्ञानताको अँध्यारोबाट सत्य र ज्ञानको उज्यालोतिर, तथा नश्वरताबाट चिरन्तनतातिरको यात्राका लागि प्रेरित गर्छ । यी सूत्रहरू हाम्रो जीवनशैलीका आधारभूत नैतिक मूल्यहरू हुन्, जसलाई हामीले पढ्नु, बुझ्नु र हृदयदेखि आत्मसात् गर्नु हाम्रो मौलिक कर्तव्य हो ।
राष्ट्रिय स्वाभिमानको भावनालाई जगाउन हामीले विदेशी क्रान्तिको इतिहास वा पराइका कथा खोतलिरहनु पर्दैन । हाम्रो आफ्नै माटोमा यस्ता गौरवशाली पदचाप छन्, जसले हामीलाई सच्चा देशभक्तिको अर्थ सिकाउँछन् र आत्मबल प्रदान गर्छन् । हामीले पृथ्वीनारायण शाहको दिव्य उपदेश र दूरदर्शितालाई पढ्नु पर्छ, जसले राष्ट्रिय एकताको जग बसाले । बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा जस्ता वीर योद्धाहरूको गाथाले हामीलाई आफ्नो देशको माटोको एक कण पनि जोगाउ प्राण आहुति दिनु पर्छ भन्ने देशभक्तिको सर्वोच्च प्रेरणा दिन्छ । उनीहरूको बहादुरीले हाम्रो राष्ट्रिय सार्वभौमसत्ताको सीमा कोरेको छ । यी नायकहरू हाम्रो इतिहासका ज्वलन्त उदाहरण हुन्, जसलाई पढ्नु भनेको कुनै अतीतको कथा पढ्नु मात्र होइन, बरु वर्तमानमा दृढताका साथ उभिने शक्ति प्राप्त गर्नु हो । यसका साथै सामाजिक सुधार र नैतिक उत्थानका लागि आजीवन समर्पित महागुरु फाल्गुनन्द जस्ता विभूतिको योगदानलाई पनि हामीले सम्मानका साथ पढ्नु पर्छ ।
इतिहासका गौरवशाली अध्यायहरूबाट प्रेरणा लिँदै, हामीले वर्तमानका कर्मवीरलाई पनि पढ्नु उत्तिकै आवश्यक छ । हाम्रो देशको माटोमा अहिले पनि त्यस्ता व्यक्तित्व छन्, जसले आयातित सिद्धान्तको सहारा नलिई, आफ्नै ज्ञान र विवेक प्रयोग गरेर देशको सेवामा जीवन समर्पित गरेका छन् । योगी नरहरिनाथको इतिहास, संस्कृति र राष्ट्रियताप्रतिको अटल समर्पण, दयावीरसिंह कंसाकारको समाजसेवा र परोपकारको भावना, खप्तड बाबाको आध्यात्मिकता र प्राकृतिक जीवनशैली, सन्दुक रुइतको मानवतावादी चिकित्सा सेवा, जसले हजारौँ विपन्नको जीवनमा उज्यालो भरिदियो, महावीर पुनको वैज्ञानिक सोच र ग्रामीण क्षेत्रको प्रविधि विकासका लागि गरेको त्याग, र भगवान् कोइरालाको स्वास्थ्य सेवामा पु¥याएको अतुलनीय योगदान– यी सबै व्यक्तित्व नेपाल आमाका असल सन्तान हुन् । उहाँहरूले आफ्नै धरातलका समस्या बुझेर, आफ्नै स्रोतसाधनको बलमा समाधानको बाटो पहिल्याउनुभएको छ । यी कर्मवीरलाई पढ्नु भनेको केवल जीवनी पढ्नु होइन, यो त कर्म, त्याग र सेवाको उच्च मानवीय भावनालाई पछ्याउनु हो, जसले हामीलाई सच्चा राष्ट्रप्रेम भनेको भव्य भाषणमा होइन, आफ्नै कर्मभूमिमा पसिना बगाउनुमा निहित छ भन्ने सिकाउँछ ।
सत्य के हो भने, कुनै पनि राष्ट्रको वास्तविक दर्शन त्यहाँका जनताको जीवनमा झल्किन्छ । यसैले, हामीले विदेशी सिद्धान्तका सैद्धान्तिक बहसमा अल्झिनुभन्दा पहिले हाम्रै हिमाल, पहाड र तराईका दुःख सुखका कथा पढ्नु पर्छ । हिमालका गोरेटोमा चल्ने जीवनको कठोरता, पहाडका भिरपाखामा खेती गर्ने किसानको अदम्य साहस, र तराईको उर्वर भूमिमा पसिना बगाउने मजदुरको आशा र निराशा– यी सबै हाम्रा साझा कथा हुन् । यी कथामा अभाव छ तर त्योभन्दा ठुलो आशा र समस्या छ तर त्योभन्दा ठुलो सम्भावनाको बीज छ । हाम्रो पहिलो कर्तव्य यही हुनु पर्छ कि हामीले यी कथाहरूलाई केवल पढेर मात्र नछोडौँ, बरु तिनको मूल कारण पत्ता लगाऊँ र समाधानका लागि कम्मर कसौँ । हाम्रो शिक्षा, हाम्रो राजनीति, हाम्रो अर्थतन्त्र, सबै यही देशको माटो, यही देशका जनताको आवश्यकतामा आधारित हुनु पर्छ । हामीले हाम्रै स्रोत र साधनको पहिचान गरेर, हाम्रै सम्भावनालाई पहिल्याएर देशलाई समृद्धिको बाटोमा डो¥याउनु पर्छ ।
राष्ट्रियताको मर्म केवल भूगोलमा सीमित हुँदैन, यो त देशको भाषा, संस्कृति, रीतिरिवाज र विविधतामा जीवित रहन्छ । नेपाल अनेकौँ जातजाति, भाषाभाषी, धर्म र संस्कारको एक सुन्दर बगैँचा हो । हाम्रा भाषा नेपाली, मैथिली, भोजपुरी, नेवारी, लिम्बू, राई, तामाङ आदि केवल बोलीचालीका माध्यम मात्र होइनन्, यी त हाम्रा सभ्यता र इतिहासका अमूल्य निधि हुन् । यी भाषा जोगाउनु भनेको हाम्रो मौलिक ज्ञान र पहिचानलाई जोगाउनु हो । त्यस्तै यहाँका विभिन्न जातजाति, संस्कार, धर्म, रीतिरिवाज पढ्नु र बुझ्नु भनेको एकले अर्कालाई सम्मान गर्नु हो । यो सद्भाव नै हाम्रो राष्ट्रिय शक्तिको मूल आधार हो । हामीले संस्कार जोगाउनु पर्छ भन्नुको अर्थ पुरातनवादी बन्नु होइन, बरु हाम्रो नैतिक, सामाजिक र मानवीय मूल्यलाई समयसापेक्ष परिमार्जन गर्दै संरक्षण गर्नु हो । यो विविधता नै हाम्रो राष्ट्रिय पहिचानको मुकुट हो, जसले हामीलाई विश्वसामु एक विशिष्ट र मौलिक राष्ट्रको रूपमा स्थापित गर्छ ।
यसैले अब हामीले अन्यत्र आँखा दौडाउने होइन, आफ्नै धरातलमा खुट्टा टेकेर अघि बढ्नु पर्छ । हामीले संसारका सबै दर्शन पढ्यौँ भने पनि, जबसम्म हामी आफ्नै सहिदलाई पढ्दैनौँ– उनीहरूको त्यागलाई बुझ्दैनौँ, तबसम्म हाम्रो देशभक्ति अधुरा रहन्छ । उनीहरूको रगतले सिञ्चित यो माटोले हामीबाट आफ्नोपन, स्वाभिमान र निस्वार्थ सेवा मागेको छ । हामीले आयातित विचार र नक्कलबाट माथि उठेर, आफ्नै राष्ट्रिय विभूतिको त्यागबाट प्रेरणा लिई, आफ्नो भाषा, संस्कृति र विविधतालाई सम्मान गर्दै, देशका जनताको दुःख सुखमा साथ दिनु पर्छ । जब हामी यो मौलिक मार्गलाई आत्मसात् गर्छौं, तब मात्र हामीलाई कसैले सिकाउनु पर्दैन– हामी स्वयम् नै नेपाल आमाका योग्य, स्वाभिमानी र असल सन्तान बन्न सक्छौँ । हाम्रो भविष्य विश्वलाई नयाँ बाटो देखाउने मानवीय उत्कृष्टता र राष्ट्रिय स्वाभिमानको उज्यालोमा चम्किलो हुने छ ।