पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर ७ गते । पश्चिम नवलपरासीमा आर्टिफिसियल इन्टेलिजेन्स एक्सरे प्रविधिद्वारा समुदायस्तरमा क्षयरोगको खोजपडताल तीव्र पारिएको छ । स्वास्थ्य शिविरमा आर्टिफिसियल इन्टेलिजेन्स एक्सरे प्रविधि प्रयोग गरी ४१९ जनाको छाती रोग तथा शङ्कास्पद क्षयरोगसम्बन्धी जाँच गरिएको हो । परीक्षण गरिएकामध्ये १०० जनामा क्षयरोगको शङ्का देखिएको र उनीहरूको थप पहिचानका लागि नमुना सङ्कलन गरी अस्पताल पठाइएको छ ।
स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीका प्रमुख अंगदबहादुर शाहीका अनुसार, समुदायस्तरमा लुकेर रहेको सङ्क्रमण पत्ता लगाउन र समयमै उपचार सुरु गर्न यो प्रविधि अत्यन्तै उपयोगी साबित भएको छ । “समयमै रोग पहिचान गर्न सकिए मात्र क्षयरोग निवारणको लक्ष्यमा पुग्न सकिन्छ,’’ उहाँले बताउनुभयो ।
क्षयरोगको लक्षण नदेखिएका तर शरीरभित्र किटाणु बोकेर बसेका सम्भावित बिरामीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.प) र विराट नेपाल मेडिकल ट्रष्ट को संयुक्त सहकार्यमा यो खोजपडताल कार्यक्रम आयोजना गरिएको थियो । शिविर पाल्हीनन्दनस्थित गेर्मी स्वास्थ्य चौकी र रामग्रामको अमरवन स्वास्थ्य चौकीमा केन्द्रित थियो ।
शङ्कास्पद बिरामीहरूको थप पहिचानका लागि उनीहरूको खकार नमुना सङ्कलन गरी जिल्लाको मुख्य अस्पताल पृथ्वी चन्द्र अस्पताल, परासी मा पठाइएको छ । उक्त नमुनाको प्रयोगशाला परीक्षणपछि क्षयरोग पुष्टि भएमा तत्काल उपचारको प्रक्रियामा ल्याइने आयोजकहरूले जनाएका छन् ।
कार्यक्रममा प्रयोग गरिएको एआइ एक्सरे प्रविधिले छोटो समयमा धेरै मानिसहरूको जाँच गरी रोगको प्रारम्भिक पहिचान गर्न सहयोग पुर्याएको छ । यस किसिमको प्रविधिजन्य खोजपडतालले समुदाय स्तरमा क्षयरोगको द्रुत पहिचान र उपचार प्रक्रियामा सहयोग पुर्याई रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।