• ७ मंसिर २०८२, आइतबार

विकास माग्न लिमीवासी आइपुगे सदरमुकाम सिमकोटमा डेलिगेशन

blog

न्यालु लेकको सडकमा जमेकाो बरफ फुटाउदै लिमीवासी । तस्बिर : राजन रावत

हुम्ला, मङ्सिर ७ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तीन बस्तीका स्थानीय विकास माग्न सदरमुकाम सिमकोटमा आइपुगेका छन् । पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ र बरफ फुटाएर उनीहरु लिमीबाट सदरमुकाम सिमकोटमा आइपुगेका हुन् ।

लिमीका तीन बस्ती तील, हल्जी र जाङको सम्युक्त बैठकको निर्णय कार्यान्वयन गर्न लिमीवासी सदरमुकाम सिमकोटमा आइपुगेको लिमीको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङले बताउनुभयो । एक हप्ता अगाडि लिमीको हल्जी गाउँमा सम्पन्न भएको तीन गाउँको संयुक्त बैठकले विकास माग्न सदरमुकाम सिमकोटमा डेलिगेशन जाने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न लिमीबाट १५ जना महिलासहित ५० जना लिमीवासी शनिबार बेलुका सदरमुकाम सिमकोट आइपुगेको उहाँले बताउनुभयो ।

न्यालु लेकको सडकमा जमेको बरफ फुटाउन सात घण्टा लागेको उनीहरुले बताए । सडकमा जमेको बरफ फुटाउने र पन्छाउने कार्य डोजर र औजारबाट उक्त समूहले गरेका थिए ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ लिमीका धेरै विकास गर्न बाँकी भएका कारण गाउँवासी मिलेर सदरमुकाम सिमकोटमा डेलिगेशन आउनु परेको बताउनुभयो । लिमीबाट सिमकोट आउने कार्य भएको र अब मुख्यमुख्य बिकासी कार्यालयमा आइतबारबाट डेलिगेशन जाने उहाँँले बताउनुभयो । सञ्चार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षा लगायतका समस्याहरु लिमीका गाउँमा रहेको र ती समस्या समाधानका लागि आफ्नो नेतृत्वमा लिमीवासी डेलिगेशन सिमकोट आइपुगेको उहाँले बताउनुभयो ।

लिमीका समस्या समाधान नगर्ने हो भने लिमीका गाउँमा मानिस बस्न छोड्दै जाने र कुनै दिन लिमीका तीन गाउँ मानिसविहीनको अवस्था आउने उहाँले बताउनुभयो । त्यसैले यस पटक लिमीबाट सिमकोट विकास माग्न डेलिगेशन आइपुगेको समूहले केही न केही माग पूरा नगरी गाउँ नफर्कने मनस्थितिमा रहेको उहाँले बताउनुभयो ।

विकास माग्न डेलिगेशन आइपुगेको समूहले आइतबार १० बजे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल र आफ्ना समस्या सुनाउने कार्यक्रम तय गरेको छ । त्यसपछि हिल्सा सिमकोट सडक योजना, पूर्वाधार विकास कार्यालय, नेपाल टेलिकममा पुगेर आफ्ना समस्या राख्ने कार्यक्रम तय गरिएको छ । यसरी विकास माग्न यति ठुलो समस्ह लिमीबाट पहिलो पटक आइपुगेको हो ।