• ७ मंसिर २०८२, आइतबार

कृषिमा बाइस अर्ब विदेशी लगानी प्रतिबद्धता

blog

  • साना परियोजनामा लगानीकर्ताको चासो  
  • पूर्वाधार क्षेत्रमा छैन लगानी प्रतिबद्धता 

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । विदेशी लगानीकर्ताको धेरै आकर्षणको क्षेत्रमा नरहेको नेपालको कृषि क्षेत्रमा यस पटक भने उच्च लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा मात्रै नेपालको कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा कृषि र वनका १३ वटा परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । सिन्धुलीमा मासु प्रशोधन उद्योग निर्माणका लागि प्राप्त प्रतिबद्धताका कारण कृषिमा उच्च लगानी प्रतिबद्धता देखिएको हो । 

कृषिपछि पर्यटन क्षेत्रमा लगानीकर्ताको चासो देखिन्छ । विभागका अनुसार चार महिनामा पर्यटन क्षेत्रमा ११८ वटा परियोजनाका लागि आठ अर्ब ९४ करोड २० लाख ५० हजार रुपियाँको प्रतिबद्धता आएको छ । त्यस्तै सेवा क्षेत्रका २३ वटा परियोजनाका लागि तीन अर्ब नौ करोड ६० लाख रुपियाँ प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । उत्पादनमूलकतर्फ २१ वटा परियोजनामा एक अर्ब ६५ करोड २० लाख रुपियाँ प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रमा भने ८७ करोड ४३ लाख ८६ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । ऊर्जाका लागि १८ करोड ४२ लाख ५० हजार लगानी प्रतिबद्धता प्राप्त छ । खनिजतर्फ एउटा परियोजनाका लागि चार करोड ५० लाख रुपियाँको प्रतिबद्धता आएको छ । पूर्वाधार क्षेत्रमा भने कुनै पनि लगानी प्रतिबद्धता आएको छैन ।

चार महिनामा स्वीकृत भएका ३८२ परियोजनामध्ये ३६९ वटा साना परियोजना छन् । लगानीकर्ता सबैभन्दा धेरै साना प्रकृतिका परियोजनामा आकर्षित भएका छन् । यस्तै मझौला छ र ठुलो परियोजनाको सङ्ख्या सात छ । विभागका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ३८२ वटा परियोजनामार्फत ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । 

गत आव २०८१/८२ मा सो अवधिमा १८ अर्ब ६६ करोड ५१ रुपियाँ बराबरको मात्र लगानी स्वीकृत भएको थियो ।  विभागका अनुसार साउनमा मात्रै २४ अर्ब १० करोड ४९ लाख रुपियाँ रकम बढीको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । भदौमा आठ अर्ब ९४ करोड ७० लाख रुपियाँ, असोजमा दुई अर्ब ४५ करोड ७३ लाख रुपियाँ र कात्तिकमा एक अर्ब ५४ करोड ३९ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।  विभागका अनुसार सुरुदेखि हालसम्म छ खर्ब ८६ अर्ब पाँच करोड रुपियाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।