• ७ मंसिर २०८२, आइतबार

चार अर्ब राजस्व उठ्ने अनुमान

blog

मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालय ।

मुस्ताङ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ७ गते । उपल्लो मुस्ताङको कोरला नाकाबाट मङ्सिरसम्म चार अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । मुस्ताङ भन्सार कार्यालय नेचुङका प्रमुख रमेश खड्काका अनुसार शुक्रबारसम्म तीन अर्ब ८३ करोड रुपियाँ राजस्व सङ्कलन भएकोमा यो महिनासम्म चार अर्ब रुपियाँभन्दा बढी राजस्व उठ्ने अनुमान छ । 

भदौको ३० गतेदेखि निकासीपैठारी सुरु भएको यो नाकाबाट अहिलेसम्म एक हजार ७३१ वटा विद्युतीय (इभी) गाडी भित्रिएका छन् । यसबाहेक एक हजार ३० मालवाहक, कन्टेनरमार्फत सामान आयात भएको छ । निकासीतर्फ यो नाकाबाट नेपालमा उत्पादन हुने हस्तकला सामग्री र कपडासहित ६२ वटा ट्रक चीनतर्फ प्रवेश गरेको कार्यालयले जनाएको छ । 

भन्सार प्रमुख खड्काका अनुसार अत्यधिक चिसोमा पनि आयातनिर्यात रोकिएको छैन । भन्सार कार्यालयमा जाँचपास भएका र रोकिएका सामान सक्दो चाँडो कोरला–जोमसोम–बेनी सडकखण्डबाट गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । 

नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडक रहेको छ । नेपालमा उत्पादन भएका हस्तकला, कपडा, जुत्तालगायतका सामग्रीहरूको बजार चिनियाँले समेत रुचाउन थालेपछि पछिल्लो समय निकासीमा केही सुधार भएको छ । हालसम्म सात अर्ब ५० करोड रुपियाँभन्दा बढीको सामान आयात भएको छ भने आठ करोड ५० लाख रुपियाँभन्दा बढी मूल्यको सामान निर्यात गरिएको छ । भन्सार कार्यालयमा मङ्सिर १५ गतेसम्म आउने सामान चिनियाँ भन्सार कार्यालयमा आइपुगेको छ । 

भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधनसमेत १८६ किलोमिटर दुरीको कोरला–जोमसोम–बेनी सडकखण्ड सुधार नहुँदा ठुला कन्टेनर सञ्चालनमा समस्या भइरहेको छ । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैजान २५१ किलोमिटरको सडकमार्ग पार गर्नु पर्छ । 

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा नेपाल सरकारको पहलमा २०८० कात्तिक २७ देखि यो नाकाको औपचारिक उद्घाटन भएको थियो ।