वासिङ्टन, मङ्सिर ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको द्वन्द्व न्यूनीकरणमा आफैँले निर्वाह गरेको ‘ केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्याउनुभएको छ ।
न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः अघि सार्नुभएको हो । चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुग्नुभएका ममदानी र राष्ट्रपति ट्रम्पबिचको भेट ओभल अफिसमा सम्पन्न भयो ।
राष्ट्रपति ट्रम्पले बैठकलाई ‘उत्कृष्ट’ भन्दै उहाँसँग कुरा गर्न ‘रमाइलो’ लागेको टिप्पणी गर्नुभयो । संयुक्तरूपमा पत्रकार सामु उभिँदा राष्ट्रपति ट्रम्पले मे महिनामा भारत-पाकिस्तानबिच उत्पन्न गतिरोधको पुनः स्मरण गर्दै दोहोर्याउनुभयो, “मैले भारत र पाकिस्तानसहित आठ राष्ट्रसँग आठ शान्ति सम्झौता गरेँ ।” उहाँले उक्त तनावलाई नियन्त्रणमा ल्याउन आफ्नो प्रशासनले निर्णायक भूमिका खेलेको दाबी निरन्तर गर्दै आउनुभएको छ ।
उहाँका पछिल्ला टिप्पणी यसै हप्ता उहाँले बारम्बार गर्दै आएका समान अभिव्यक्तिसँग मेल खान्छन् । बुधबार राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान दुवैले शत्रुता अन्त्य नगरे ३५० प्रतिशतसम्म आयात शुल्क लगाइने धम्की दिएको दाबी गर्नुभएको थियो । उहाँका अनुसार, यही दबाबले दुई वटा आणविक-सशस्त्र छिमेकी राष्ट्र युद्ध-स्तरको टकरावबाट पछाडि हट्न बाध्य भए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई ‘हामी युद्धमा जानेछैनौँ’ भन्नुभएको थियो भन्ने कुरा पनि राष्ट्रपति ट्रम्पले पुनः उद्धृत गर्नुभयो । मे १० देखि जब उहाँले सामाजिक सञ्जालमा भारत–पाकिस्तानबिच वासिङ्टनले ‘सहज बनाएको’ लामो वार्तापछि ‘पूर्ण र तत्काल’ युद्धविराम भएको उल्लेख गर्नुभयो, त्यसयता उहाँले ६० भन्दा बढी पटक शान्ति सहजीकरणमा आफ्नो ‘सहयोग’ रहेको दाबी दोहोर्याइसक्नु भएको छ ।
तर भारतले भने निरन्तररूपमा कुनै पनि तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ । अप्रिल २२ मा काश्मीरको पहलगाममा धर्मको नाममा गराइएको आतङ्कवादी आक्रमणमा २६ जना सर्वसाधारण मारिएपछि भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित काश्मीर (पिओके) स्थित आतङ्कवादी पूर्वाधारलाई लक्षित गर्दै मे ७ मा अपरेसन सिन्दूर सुरु गरेको थियो । करिब चार दिनसम्म चलेको भारी ड्रोन तथा मिसाइल आदानप्रदानपछि दुवै पक्ष मे १० मा शत्रुता अन्त्य गर्न सहमत भएका थिए ।
ह्वाइट हाउसमा नवनिर्वाचित मेयर ममदानीको उपस्थितिले न्युयोर्क सहरको नेतृत्वमा ऐतिहासिक मोड सङ्केत गर्यो । उहाँ संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो नगरको नेतृत्व गर्ने पहिलो दक्षिण एसियाली तथा पहिलो मुस्लिम नेता बन्नुभएको छ । चुनावभरि अत्यधिक लोकप्रिय मानिनुभएका ममदानीले रिपब्लिकन कर्टिस स्लिवा तथा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नुभएका पूर्व गभर्नर एन्ड्र्यु कुओमो दुवैलाई पराजित गर्नुभयो । कुओमोले अन्तिम क्षणमा राष्ट्रपति ट्रम्पको समर्थनसमेत प्राप्त गर्नुभएको थियो ।
भारतीय परम्परामा जन्म–जरा गढिएका मेयर ममदानी फिल्म निर्माता मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमुद ममदानीका सुपुत्र हुनुहुन्छ । युगान्डाको कम्पालामा जन्मिनुभएका उहाँ सात वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा बसाइँ सर्नुभएको हो र सन् २०१८ मा अमेरिकाको नागरिकता प्राप्त गर्नुभएको हो । रासस/एएनआइ