साहारा लिम्बू
फुङलिङ, मङ्सिर ४ गते । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।
चासोक तङ्नाम मूल सञ्चालक समितिको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिमसहित जम्मा १५ वटा टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलन मार्फत समितका अध्यक्ष विशाल लङ्वा लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रवेश शुल्क पाँच हजार पाँच सय ५५ रुपियाँ रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपराह्न ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संयोजक सुसन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार विजेताले नगद एक लाख ५० हजार रुपियाँ र उपविजेताले नगद एक लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् ।
स्थानीय लोकेश लिबाङले धार्मिक एवम् सांस्कृतिक हिसाबले महत्वपूर्ण साङ्धुङ्गे क्षेत्रको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मङ्सिर १३ देखि हुने प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ भने सोही दिन साँझ जिल्लाका कलाकारहरूको उपस्थितमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।