गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपियाँ (पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपियाँ (७४ करोड ७० लाख डलर) को हुने भएको छ ।
यसअघि एमसिसी कार्यान्वयनका लागि भएको सम्झौतामा अमेरिकाले ५० करोड डलर अनुदान उपलब्ध गराउने घोषणा गरिएको थियो । थप अनुदान रकमसँगै अमेरिकाले नेपाललाई कुल ५५ करोड डलर उपलब्ध गराउने घोषणा गरेको हो । बाँकी १९ करोड ७० लाख डलर नेपाल सरकारले बेहोर्ने सम्झौतामा उल्लेख छ ।
अमेरिकाले उपलब्ध गराउने थप अनुदानले विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै बजार पहुँचमा सुधार गरी सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पु¥याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी असल अभ्यासलाई प्रवर्धन गर्ने एमसिसीले जनाएको छ । “उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरको विस्तार पनि गर्छ,” नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
यो आर्थिक सहयोगले अमेरिका र नेपालबिच रहेको साझेदारीलाई प्रतिविम्बित गर्ने पनि सूचनामा उल्लेख गरिएको छ । एमसिसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत निरन्तरता दिएको पनि जनाइएको छ ।