• ४ मंसिर २०८२, बिहिबार

नियमित प्रक्रियाबाटै गेट पास

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेशका लागि नियमित प्रणाली अनुसार प्रवेश पास दिन सुरु गरिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको प्रदर्शनपछि सिंहदरबारको मूल गेटबाट दिँदै आइएको प्रवेश पास नियमित प्रक्रिया अनुसार पुनः दिन सुरु गरिएको जानकारी दिनुभयो ।

भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको प्रदर्शनको क्रममा आगजनीबाट प्रवेश पास दिने गरिएका झ्याल र संरचना क्षतिग्रस्त भएपछि सिंहदरबारको मूलद्वारबाटै नै पास दिँदै आइएको थियो । विभिन्न मन्त्रालय र निकाय अनुसार फरक फरक झ्यालबाट प्रवेश पास दिने गरिएकामा ती संरचना आगजनीबाट क्षतिग्रस्त भएपछि प्रवेश पासको काम रोकिएको थियो । 

सहायक प्रवक्ता आचार्यले सिंहदरबार प्रवेश गर्न चाहनुहुने आगन्तुकले आफूले जान खोज्ने मन्त्रालय वा निकायमा ‘क्युआर कोड’ मार्फत अनुरोध पठाउने वा सम्बन्धित मन्त्रालय वा निकायको सम्पर्क व्यक्ति (फोकल पर्सन) लाई सम्पर्क गर्ने व्यवस्थामार्फत नाम आउने व्यक्तिलाई विभिन्न झ्यालबाट प्रवेश पास दिने गरिएको जानकारी दिनुभयो ।