अविनाश चौधरी
धनगढी, मङ्सिर ३ गते । जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय अमन केसी, २४ वर्षीय आशिष भण्डारी र बैतडीको पुर्चौडी घर भइ धनगढी उपमहानगरपालिका–३ मै बस्दै आएका २४ वर्षीय भरत बम रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला अदालतमा भदौ २४ गते आगजनी र तोडफोड भएको थियो । आगजनीबाट अदालतमा रहेको २००७ सालदेखिका मिसिलहरू जलेर नष्ट भएका छन् । यसैगरी, कम्प्युटर लगायतका सूचना प्रविधिका विभिन्न सामग्रीमा क्षति भएको थियो ।
घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै अदालतले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो । उहाँले अहिलेसम्म अरू सरकारी कार्यालयहरूले भने जाहेरी नदिएको उल्लेख गर्नुभयाे । “अहिलसम्म हामी कहाँ जाहेरी आएको अदालतकोमात्रै हो” सिंहले भन्नुभयो,“जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेका छाैं ।"