• २ मंसिर २०८२, मङ्गलबार

उच्च अदालत तुलसीपुर नेपालगन्जमा आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

blog

आगजनी र लुटपाटबाट क्षति पुगेको उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्ज । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, मङ्सिर २ गते ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते एक उच्छृंखल समूहद्वारा उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, अदालतमा दर्ता भएको अपराधिक उपद्रवसम्बन्धी कसूरको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा भएको आगजनी र लुटपाटको घटनाको अनुसन्धानका क्रममा नेपालगन्जका विभिन्न स्थानबाट छ जना व्यक्तिहरूलाई पक्राउ गरिएको बताउनुभयो ।

उहाँले प्रहरीद्वारा पक्राउ गरिएकाहरुमा नेपालगन्ज ४ का रवि कुमार वैश्य, वडा नम्बर १० का बल्लु गोडिया, वडा नम्बर ९ का गंगा सागर वर्मा, वडा नम्बर ५ का मोहम्मद ताहिर हलवाई, वडा नम्बर ४ का एशन राज सिद्दिकी र वडा नम्बर ९ का ओमराज सोनी रहेको बताउनुभयो ।

प्रहरीले जिल्ला अदालतबाट उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राख्न अनुमति लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसअघि पनि नेपालगन्जका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा चारजनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले कानुनी कारवाही अगाडि बढाएको थियो ।

जेनजी आन्दोलनको मुख्य दिन भदौ २३ गते नेपालगन्जलगायत बाँके जिल्लाका विभिन्न स्थानमा कुनैपनि अप्रिय घटना भएको थिएन भने अर्को दिन भदौ २४ गते एक उच्छृंखल समूहले नेपालगन्ज र कोहलपुरका करिब चार दर्जनभन्दा बढि सरकारी कार्यालयहरुमा तोडफोड आगजनी र लुटपाट गरेको थियो ।