• २ मंसिर २०८२, मङ्गलबार

अधिकांश घरधुरीमा खानेपानीको पहुँच

blog

हिमा गाउँपालिकामा आयोजित कार्यक्रम । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), मङ्सिर २ गते । जुम्लाको हिमा गाउँपालिकाका अधिकांश घरधुरीमा खानेपानीको पहुँच पुगेको पाइएको छ । खानेपानीको धारा विस्तार भएपछि घर घरमा स्वच्छ खानेपानी उपलब्ध हुन थालेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार हिमाका ८० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर, एक धारा’ विस्तार गरिएको हो । सरकारको लक्ष्य अनुसार खानेपानीको पहुँच विस्तार गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ । गाउँपालिका भर करिब दुई हजार तीन सय दुई घरधुरीमा एक घर एक धाराको पहुँच पुगेको छ ।

खानेपानी निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना’ मार्फत खानेपानी विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । स्वच्छ खानेपानी पहुँचसँगै स्थानीयवासीको स्वास्थ्य र दैनिक जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संविधानको मर्म अनुसार सबै नागरिकलाई खानेपानी सेवामा सहभागी गराइएको अध्यक्ष शाहीले बताउनुभयो । 

गत वर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जना नागरिकले सेवा लिएका छन् । सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गरिएको छ । बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम अन्तर्गत ५६ जना छोरीको बैङ्क खाता खोलिएको छ । बैङ्क सेवामार्फत अन्य यहाँका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरणमा ४८८ जनालाई सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ । 

गत वर्षको गाउँपालिकाको आन्तरिक राजस्व करिब २६ लाख ४३ हजार सङ्कलन भएको हिमा गाउँपालिकाको राजस्व शाखाले जनाएको छ । सोही आवमा विभिन्न शीर्षकका करिब १०८ वटा योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको हिमा गाउँपालिकाले जनाएको छ ।