बैतडी समाचारदाता
बैतडी, मङ्सिर २ गते । शैक्षिक सत्रको बिचमा एकै नगरपालिकाभित्र रहेका १० वटा विद्यालय मर्ज भएका छन् । बसाइँसराइलगायतका कारणले विद्यार्थी सङ्ख्या कम भएपछि मेलौली नगरपालिकाले १० वटा आधारभूत विद्यालय मर्ज गरेको हो । शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज भएपछि विद्यार्थी अर्को विद्यालय जान बाध्य भएका छन् ।
औसतमा १०/१२ जना मात्रै विद्यार्थी सङ्ख्या भएका १० वटा आधारभूत विद्यालय मर्ज भएको मेलौली नगरपालिकाको शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीले बताउनुभयो ।
नगर कार्यपालिकाको निर्णय अनुसार मर्ज भएका विद्यालय नैनेश्वरी आधारभूत विद्यालय मेलौली–१, सिरोडी, केदारेश्वर आवि, मेलौली–१, भूमिराज आवि बेउराडी, मेलौली–२, पित्रिपुर आवि शेली मेलौली–२, भवानीस्थान आवि भोरा, मेलौली–२, सुनौलो आवि तिताबै मेलौली–४, शिवशङ्कर आवि पेले मेलौली–५, नेत्रज्योति आवि काँडा मेलौली–७, र नवज्योति आवि मेलौली–९ रहेका छन् ।
यीमध्ये सुनौला आवि तिताबै र भूमिराज आवि बेउराडीमा बाल विकाससमेत नरहने गरेर मर्ज भएको छ । अन्यमा भने बाल विकास सहजकर्ता रहने गरेर मर्ज गरिएको शिक्षा शाखा प्रमुख क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मर्ज गरिएका विद्यालयको शिक्षक दरबन्दी पुलमा रहने गरी शिक्षक र कार्यालय सहयोगीलाई अन्यत्र विद्यालयमा सरुवा गरिएको छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्ज गर्ने सङ्घीय सरकारको नीति अनुसार नगरपालिकाले निर्णय गरेको हो ।”
तीन वर्षअघिसम्म ८० जना विद्यार्थी सङ्ख्या रहेको भूमिराज आधारभूत विद्यालय बेउराडीमा यो वर्ष छ जना मात्र भर्ना भएकाले नगरपालिकाले मर्ज गरेको व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दले बताउनुभयो । उहाँले विद्यालय मर्ज भएपछि गाउँबाट बसाइसरेर जान नसक्ने अभिभावक बालबच्चालाई नजिकको अर्को विद्यालय लैजान थालेको बताउनुभयो । आधारभूत तहमा अध्ययन गर्ने बालबालिका सानै भएकाले विद्यालय पु¥याउन र ल्याउन अभिभाक आफैँ खटिएको बताउनुभयो ।
विद्यालय मर्ज हुने निर्णयपछि मैलौली नगरपालिका–९, जिमरा दलित टोलका अभिभावक विद्यालयमै पुगेर रुन थालेको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । राज्यको लगानीका हिसाबले ५० प्रतिशत विद्यार्थी घटेको भनिए पनि अभिभावका लागि त घरका तीन जना विद्यार्थी शतप्रतिशत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नवज्योति आवि स्थापना हुँदा जिमरा, मेलघट र खोली टोलका ६७ जना विद्यार्थी थिए । अहिले खोली र मेलघट टोल बसाइँसराइका कारण रित्तिएपछि जिमरा दलित टोलका मात्रै १०÷ १२ जना विद्यार्थी बाँकी रहेका छन् । विद्यालय मर्ज भएपछि यो टोलका बालबालिका ४५ मिनेटको दुरीमा रहेको विशालपुर मावि जान थालेका छन् ।”
मेलौली नगरपालिका चितुवा प्रभावित क्षेत्र भएकाले टाढाको विद्यालय जाने विद्यार्थी त्रसित बनेको जिमरा टोलका दलित अगुवा करनराम लोहारले बताउनुभयो । जिराटोलको पायक पर्ने नवज्योति आवि बन्द भएपछि यहाँका २२ जना विद्यार्थी विशालपुर मावि जाने गरेको उहाँले बताउनुभयो ।
मेलौली नगरपालिकाले यही भदौ ११ गतेको कार्यपालिका बैठकबाट विद्यालय मर्ज गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भने कात्तिकबाट सुरु भएको वडाअध्यक्ष भट्टले जानकारी दिनुभयो । शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज हुँदा अभिभाव र विद्यार्थीले अप्ठ्यारो भएको गुनासो गरेको उहाँले बताउनुभयो ।