• १ मंसिर २०८२, सोमबार

नीलकण्ठ नगरपालिकाको टोलमै स्वास्थ्य सेवा

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, मङ्सिर १ गते । धादिङको नीलकण्ठ नगरपालिकामा ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन भइरहेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी हरेक तीन महिनामा टोल टोलमा पुग्ने गरेका छन् । आफ्नै टोलमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा स्थानीय लाभान्वित भएका हुन् । 

नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य परीक्षण कार्यक्रमले धेरै राम्रो भएको नीलकण्ठ–७ का ऋषिबहादुर श्रेष्ठले बताउनुभयो । “पहिले के रोग लागेको हो भन्ने थाहा नै हुँदैनथ्यो, बिरामी परेपछि मात्रै अस्पताल पुगिन्थ्यो,” श्रेष्ठले भन्नुभयो, “अब स्वास्थ्यकर्मी आफैँ टोलमा आउनुहुन्छ, समयमै रोग पहिचान भएको छ, हामीलाई सजिलो छ ।”

यस्तै खुसी र सहजता अहिले नीलकण्ठ नगरपालिकाका हरेक टोलमा देख्न सकिन्छ । नगरपालिकाले सुरु गरेको ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’ मार्फत गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याउने सफल अभियान बनेको छ ।

गत वर्षको चैत महिनादेखि सुरु भएको यो कार्यक्रम अहिले नगरपालिकाका १४ वटै वडामा नियमित सञ्चालन भइरहेको छ । हरेक तीन महिनामा स्वास्थ्यकर्मीको टोली गाउँ गाउँ पुगेर नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । रक्तचाप, मधुमेह, लगायत अन्य प्रारम्भिक रोग परीक्षणदेखि स्वास्थ्य सल्लाहसम्मका सेवा टोलमै उपलब्ध हुन थालेका छन्। नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव राना भन्नुहुन्छ, “३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको यस अभियानले प्रारम्भिक चरणमै रोग पहिचान गर्न र सचेतना बढाउन ठुलो मद्दत गरेको छ ।” उहाँका अनुसार स्वास्थ्य सेवा लिने निरन्तर बढिरहेका छन् । 

यो कार्यक्रम विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त समुदायका लागि वरदान साबित भएको सुनौलाबजार स्वास्थ्य चौकीका प्रमुख रोशन आलेमगरले बताउनुभयो ।

“टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप र मधुमेह जस्ता समस्या प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार गर्न सकिने भएको छ,” उहाँले भन्नुभयो । “नगरवासीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले भन्नुभयो,  यो कार्यक्रमलाई दीर्घकालीन रूपमा विस्तार गर्दै अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ।”

नगरपालिकाको यो अभियानले खास गरी दुर्गम बस्तीकालाई अस्पताल पुग्नुपर्ने दुरी घटाइदिएको छ भने स्वास्थ्यप्रति जागरुकता पनि बढाएको छ। 

लेखक बाट थप