रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर १ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा पच्चीस सय सत्तरी जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ। जिल्ला निर्वाचन कार्यालय गुल्मीमा गत असोज १० गतेदेखि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तिब्र रुपमा भएको थियो। सूचना अधिकारी हर्क श्रीसका अनुसार यहाँबाट आन्तरिक मतदाता र वाह्य मतदाताको नाम दर्ता गरिएको हो।
जसमा महिला एक हजार ३४ र पुरुष एक हजार ४७३ जना गरी आन्तरिक मतदाता नयाँ दुई हजार ५०७ जना रहनुभएको छ। महिला २८ र पुरुष ३५ जना गरी वाह्य मतदाता नयाँ ६३ जनाको नाम दर्ता गरिएको हो। यस जिल्लामा मतदान स्थल परिवर्तन (ठाउँ सारी) ३६९ जना र १९० जना मतदाताको त्रुटि सच्याइएको छ।
आइतबारसम्म निकै तीब्र रूपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्य भइरहेको थियो। सो कार्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको स्टेसनबाट भएको बताइएको छ।
नयाँ थपिएका मतदाताहरू अधिकांश युवा पुस्ताका रहनुभएको छ। अधिकांश मतदाताले आफै मोबाइल वा कम्प्युटरबाट फारम भरेर कार्यालयमा बायोमेट्रिक गर्नुभएको थियो। पछिल्लो केहि दिन यता राष्ट्रिय परिचयपत्रबाट लिन्क गरेर समेत मतदाता नामावलीमा नाम दर्ता गरिएको छ। यसबाट कति जनाले नाम दर्ता गर्नुभयो भन्ने अझै तथ्याङ्क नआएको बताइएको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहनुभएको थियो।
जसमा महिला एक लाख १४ हजार २१५, पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य मतदाता रहनुभएको थियो। यहाँ १४२ मतदान स्थल र २७८ मतदान केन्द्र र दुई अस्थायी मतदान स्थल रहेको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयले मतदान स्थल पुनरवलोकनका लागि सर्वपक्षीय छलफल समेत गरेको छ। मतदाताहरूको सहजताका लागि तीन मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको उहाँले बताउनुभयो। जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले थप गर्न आवश्यक जिल्लाका मतदान स्थलको अनुगमन गरेको छ।
गुल्मी दरबार गाउँपालिकाको वडा-१, बलिथुम नरहरि कँडेल मावि, सत्यवती गाउँपालिकाको वडा ६ को वडा कार्यालय भवन र मुसिकोट नगरपालिकाको वडा १ को वडा सेवा केन्द्र भवन सिम्लेमा मतदानस्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ। त्यसैगरी मुसिकोट नगपालिका वडा ४, मा रहेको मुसिकोट मावि हलोगाडेबाट जनता आधारभूत विद्यालय आरुपाटामा आंशिक रूपमा (५१६ जना) मतदाता सार्नका लागि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आयोगमा सिफारिस गरेको हो।
मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम २०८२ अनुसार यस जिल्लामा ३२८ जना मृत्यु भएकाहरूको मतदाता नामवलीबाट नाम हटाइएको छ। त्रुटी हटाइएका ४७, ठाउँ सारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन्। निर्वाचन आयोगले २०८२ कात्तिक १६ गते उपलब्ध गराएको मतदाताहरूको सङ्ख्यात्मक विवरण यस जिल्लाको दुई नगरपालिका र दस गाउँपालिकामा दुई लाख २३ हजार ८४७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जसमा इस्मामा १७ हजार ८२६, कालीगण्डकीमा १४ हजार ७९५, गुल्मीरबारमा १९ हजार १४, चन्द्रकोटमा १६ हजार ३५, छत्रकोटमा १९ हजार ६३३, धुर्कोटमा १८ हजार ५२९, मदानेमा १६ हजार १८७, मालिकामा १७ हजार ५९८, मुसिकोटमा २४ हजार ४७५, रुरुक्षेत्रमा १६ हजार ६७३, रेसुङ्गामा २४ हजार ८२ र सत्यवतीमा १९ हजार मतदाता रहेको सङ्ख्यात्मक विवरण छ।