लमजुङ समाचारदाता
लमजुङ, मङ्सिर १ गते । यहाँको मध्यनेपाल नगरपालिका शमीभन्ज्याङका बिलबहादुर पण्डित क्षेत्रीले यस पटकको दाइँ सधैँको भन्दा छिटो सक्नुभयो र आराम गर्ने समय पाउनुभयो । उहाँलाई यही दाइँ गर्न पोहोर, परारतिर दिनभरि लाग्थ्यो । गत वर्ष छ हलगोरु लगाएर धानको दाइँ गरेका क्षेत्रीले यस पटक थ्रेसर मेसिनबाट दाइँ गर्दा आराम र छिटोछरितो भएको अनुभव सुनाउनुभयो ।
क्षेत्रीले भन्नुभयो, “पोहोर छ हलगोरु बाँधेर दाइँ गर्दा दिनभरमा पनि सकिएको थिएन । यस पटक भने पौने घण्टामै सकियो, शरीरले पनि आराम पायो ।” उहाँले थ्रेसर मेसिनबाट दाइँ गर्दा खर्च पनि कम लागेको बताउनुभयो । गोरुले दाइँ गर्दा खेताला बढी लाग्ने हुँदा बढी खर्च हुने गरेको उहाँ जस्तै अरू किसान बताउँछन् । शमीभन्ज्याङकै अर्का किसान एचके अकेलाले थ्रेसर मेसिनबाट दाइँ गर्दा खेताला र खर्चको बचत भएको बताउनुभयो । अकेलाले भन्नुभयो, “गाउँमा गोरु र खेताला पाउनै मुस्किल छ । थ्रेसर मेसिनले दाइँ गर्दा खेताला खोज्न जानु परेन । काम गर्न सहज भयो ।”
सजिलो हुने भएपछि जिल्लाका किसान पछिल्लो समय थ्रेसर मेसिन लगाएर दाइँ गर्नेतर्फ आकर्षित भएका छन् । कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग बढ्न थालेपछि किसानको समय र पैसासमेत बचत हुन थालको छ । तीन वर्षदेखि थ्रेसरबाट धानको दाइँ गर्ने गरेको भोर्लेटारका किसान रामचन्द्र पौडेलले बताउनुभयो ।
खेतबारीमै थ्रेसर मेसिन पुग्न थालेपछि किसान एकातिर हर्षित भएका छन् भने अर्कातिर थ्रेसर व्यापारले ग्रामीण अर्थतन्त्रलाई सबल बनाएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । थ्रेसर मेसिनका कारण गाउँको कुनाकप्चामा पुगेपछि गोरु लगाएर दाइँ गर्ने परम्परागत प्रणाली लोप हुँदै गएको छ । गोरुले आधा दिनसम्म गर्ने काम थ्रेसरले निकै छिटो सक्ने भएकाले यसतर्फ आकर्षण बढेको भलायखर्कका प्रेमप्रसाद पोख्रेलले बताउनुभयो । धान थन्क्याउन दाइँ गर्ने चटारोले छोप्दै गर्दा जिल्लाका विभिन्न फाँटमा किसान थे्रसर मेसिनबाट दाइँ गरिरहेका छन् ।
मेसिनले धान, पराल र परालको टटला छुट्टाछुट्टै ठाउँमा व्यवस्थापन गरिदिन्छ । सो मेसिनले एक घण्टामा झन्डै ४० मुरी धान दाइँ गर्न सकिन्छ । कृषि ज्ञान केन्द्रका साथै स्थानीय सरकारले ५० प्रतिशत अनुदानमा थ्रेसर मेसिन, मकै छोडाउने, गहुँ चुट्ने, खेत जोत्ने र धान रोप्नेलगायतका यन्त्र उपकरण किसानलाई उपलब्ध गराउँदै आएका छन् ।