• १ मंसिर २०८२, सोमबार

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन

blog

प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन कार्य गरिँदै । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर १ गते ।
विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पश्चिम नवलपरासीमा रहेको प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन कार्य सुरु भएको छ । भू–भौतिक सर्वेक्षणको अनुमानअनुसार भेटिएका पूर्वाधार (स्ट्रक्चर) हरूलाई भौतिक रूपमा उत्खनन गरी अन्वेषण गर्ने उद्देश्यले पुरातत्व विभागले यो कार्य अगाडि बढाएको हो ।

उत्खनन टोली र कार्यक्षेत्र
पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा उत्खनन टोलीले पण्डितपुरमा यसअघि फेला परेको प्राचीन इनार र सोसँगै जोडिएको स्थानमा उत्खननका लागि ट्रेन्च लगाएको छ । “पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक वस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको छ,’’ पुरातत्व अधिकृत ज्ञवालीले बताउनुभयो ।

यसपटक सहायक साइटको रूपमा पण्डितपुरसँगै रहेको बन्जारिन माई स्थान को पुरातात्विक क्षेत्रमा पनि उत्खनन गरिने भएको छ ।

उत्खनन कार्य एक महिनासम्म चल्नेछ । मङ्सिर १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका पुरातत्व विषयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि तालिमका लागि आउने र उनीहरू उत्खनन कार्यमा सहभागी हुने ज्ञवालीले बताउनुभयो ।

पुरातत्व विभाग र दुराम विश्वविद्यालयको प्राविधिक टोलीले विगत वर्षहरूमा गरेको भू–भौतिक सर्वेक्षण प्रतिवेदनकै आधारमा यो निरन्तर उत्खनन् भइरहेको छ । गत वर्ष पनि उत्खननका क्रममा पूर्वाधारहरू भेटिएका थिए र यस वर्ष पनि भेटिन थालेका छन् ।

कोलनगरको ऐतिहासिक महत्त्व
कोलिय गणराज्यको राजधानी कोलनगर, भगवान गौतम बुद्धको जीवनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण स्थान हो। यो बुद्धलाई जन्म दिने आमा महामाया र उहाँको पालनपोषण गर्ने सानी आमा प्रजावती गौतमीको जन्मस्थल हो । यो बुद्धकी पत्नी यशोधराको पनि जन्मस्थल हो ।

“यस स्थानमा संसारभरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिनेछ,’’ ज्ञवालीले भन्नुभयो । अनुसन्धान र कार्बन डेटिङ (समय परीक्षण) ले इसा पूर्व ६०० पुराना प्राचीन वस्तुहरू भेटिएको पुष्टि गरेको छ, जसले यो कोलिय गणराज्यको राजधानी भएको प्रमाणित गर्दछ । पुरातत्वविद्हरूको अनुमानअनुसार यो राजधानी क्षेत्र ३६ सय वर्गमिटरमा फैलिएको थियो ।