• १ मंसिर २०८२, सोमबार

लुम्बिनी संरक्षणमा स्थानीयको महत्वपूर्ण भूमिका

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर १ गते । विश्वसम्पदा स्थल लुम्बिनीको संरक्षणका लागि स्थानीय बासिन्दाको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको पुरातत्वविद् तथा सरोकारवालाले बताएका छन् । वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीका अनुसार लुम्बिनीलाई विश्वसम्पदा स्थल घोषित गराउन धेरै वर्षको प्रयास आवश्यक परेको थियो । उहाँका अनुसार २०३२ सालदेखि नै लागिपरेर लामो प्रयासपछि लुम्बिनी क्षेत्र विश्वसम्पदा सूचीमा पर्न सफल भएको हो । यद्यपि यो क्षेत्र पुनः खतराको सूचीमा पर्ने जोखिम बढेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । बिडारीले युनेस्कोको निर्देशिकाविपरीत भएका कामका कारण सचेत गराइँदै आएको र ती प्रश्नको समाधानमा ध्यान नदिँदा स्थिति जटिल बन्दै गएको उल्लेख गर्नुभयो । वरिष्ठ पुरातìवविद् कोषप्रसाद आचार्यले पुरातत्व संरक्षणका गतिविधि अध्ययन अनुसन्धानकर्ता तथा विज्ञका लागि मात्र नभई आमजनतालाई लक्षित भएकाले समुदायको सहभागिता अत्यावश्यक हुने बताउनुभयो । 

पुरातत्वविद् रविन कनिङ्घमले स्थानीय समुदाय र सञ्चार माध्यमबाट प्रसारित सूचनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको ध्यानाकर्षण हुने र संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँका अनुसार तथ्यमा आधारित सूचनाले अन्वेषण, उत्खनन, संरक्षण तथा विकासबारे जनतालाई सजिलै जानकारी दिन मद्दत गर्छ ।

युनेस्को नेपाल कार्यालयका प्रमुख याको दु तोयटले सम्पदा संरक्षणमा समुदाय, विशेष गरी युवाको भूमिका अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्पदासँग दैनिक प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीयकै पहिचान र सहभागिता पुरातात्त्विक क्षेत्रमा झल्किनु जरुरी छ ।” उहाँले स्थानीयको सक्रियताले संरक्षणसम्बन्धी निर्णय तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन मद्दत गर्ने बताउनुभयो ।

संरक्षणकर्मी राजेन्द्र सुवालले विश्वमा अर्को लुम्बिनी बन्न नसक्ने र भगवान् बुद्ध फेरि यस धर्तीमा नफर्किने भएकाले यहाँका पुरातात्त्विक तथा सांस्कृतिक धरोहर जोगाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले बुद्धका शिक्षाहरू मान्छेले यात्रा गरेर मात्र फैलाउन सक्थे, अहिले सञ्चार माध्यमले त्यसलाई सजिलो बनाइदिएको छ ।”

पर्यटन पथप्रदर्शक प्रह्लाद यादवका अनुसार लुम्बिनी धार्मिक स्थान मात्र नभई ऐतिहासिक तथा पुरातात्त्विक रूपमा महत्वपूर्ण स्थल भएकाले यहाँको संरक्षणका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको छ । उहाँले भन्नुभयो, “लुम्बिनीलाई सांस्कृतिक नगरपालिका घोषणा गरिएको छ तर नाम अनुसार काम अझै हुन सकेको छैन ।” लुम्बिनी होटेल सङ्घका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले स्थानीय तह, युनेस्को तथा अन्य निकायले संरक्षणात्मक काममा स्थानीय समुदायलाई पर्याप्त रूपमा समेट्न नसकेको भनी चिन्ता व्यक्त गर्नुभयो ।