बोमलाल गिरी
नवलपुर मङ्सिर १ गते । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नेताहरुको घरमा आगजनी र तोडफोड गर्ने थप चार जनालाई नवलपुर प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका कावासोती नगर सदस्यसहित चार जना रहेका प्रहरीले जनाएको छ ।
गाउँपालिका महासंघको केन्द्रीय अध्यक्षसमेत रहनुभएकी हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी र तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षम मधु नेपालले जानकारी दिनुभयो ।
पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । नवलपुर हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डे लगायतका जनप्रतिनिधिहरुले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको नेपालले बताउनुभयो ।
पक्राउ पर्नेमा कावासोती–८ निवासी अमित गिरी, कुमार दर्लामी, अविनाश काफ्ले र हुप्सेकोट–१ का कमल खनाल रहेका प्रहरी उपरीक्षक नेपालले बताउनुभयो । पक्राउ पर्ने गिरी नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलको नवलपुर निर्वाचन क्षेत्र नम्बर १ खको सभापति रहेको खुलेको छ ।
यसअघि हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोड गर्ने ७ जनालाई पक्राउ गरिएको थियो । नवलपुरमा अहिलेसम्म जेनजी आन्दोलनमा पक्राउ पर्नेको सङ्ख्या ११ जना पुगेको छ । गत कात्तिक १९ गते हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाका जनप्रतिनिधिले जेनजी आन्दोनका क्रममा तोडफोड गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै किटानी जाहेरी दिएका थिए ।
यसरी जाहेरी दिनेहरु मध्यविन्दुका १५ जना र हुप्सेकोटका पाँच जना रहेका छन् । जाहेरी परेकाहरु मध्ये अन्यको खोजी कार्य जारी रहेको प्ररही नायब उपरीक्षक नेपालले बताउनुभयो ।