बाजुरा समाचारदाता
बाजुरा, मङ्सिर १ गते । बाजुराको हिमाली गाउँपालिका–१, बिच्छ्याका बासिन्दा बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन् । गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीपहिरो सिधै घरभित्र पसेपछि बिच्छ्यावासीको उठिबास भएको थियो ।
बाढीका कारण अहिले यहाँका दर्जनभन्दा बढी घर, स्वास्थ्य चौकी, वडा कार्यालय र बिच्छ्या माविलगायतका भौतिक पूर्वाधारमा ठुलो क्षति भएको छ । बाढीले यहाँको पूरै बस्तीलाई क्षति पु¥याएपछि अहिले यहाँको सबै बस्तीलाई समेत स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हिमाली गाउँपालिकाका बिच्छ्याका सब्बले थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही घर भत्किएका छन् भने अन्य घर पनि निकै जोखिम अवस्थामा छन् । त्यसैले यसै ठाउँमा हामीले फेरि बसोबास गर्दा अझै बाढी आएर पुर्ने डर लाग्ने गरेको छ ।”
त्यसैले यो बस्तीलाई नै अन्य ठाउँमा स्थानान्तरण गर्नु अति आवश्यक छ । अहिलेसम्म बस्ती कतै स्थानान्तरण हुन सकेको छैन । यसका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारलाई समेत माग गरेको थापाले बताउनुभयो ।
बस्ती समयमै स्थानान्तरण गर्न नसकिएकाले अहिले यहाँका स्थानीय त्यसै जोखिम बस्तीमा बसोबास गर्दै आएका छन् । उनीहरू बर्खाको समय अन्य सुरक्षित ठाउँमा त्रिपालमा बसोबास गरेको भए पनि हिउँदमा भने त्यसै जोखिम बस्तीमा आएर बसोबास गर्न थालेका हुन् ।
बाढीले मानवीय क्षति नभए पनि बिच्छ्यामा घर, विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयको भवनलगायतका भौतिक पूर्वाधारमा अरबौँको क्षति गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको समय यहाँका स्थानीयको निकै उठिबास भयो । त्यतिबेला हामीले उनीहरूलाई खाद्यान्न, कपडा, त्रिपालको व्यवस्था गरेका थियाैँ । जे होस्, उनीहरूले त्यतिबेला प्राप्त गरेको राहतले बर्खामा केही सहज गरेको थियो ।”
“अहिले हिउँदको महिना सुरु भयो । यहाँ वैशाख जेठमा नै चिसो हुने ठाउँ हो । हिउँदमा त निकै चिसो हुन्छ । त्यसैले यहाँ यी बाढीपहिरोपीडितलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरणका लागि सम्बन्धित निकायमा माग गरेको तर अहिलेसम्म केही खबर आएको छैन,” अध्यक्ष मल्लले बताउनुभयो । हिमाली गाउँपालिकाले दिएको बस्ती स्थानान्तरणको पत्र अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइसकेको बताउँदै प्रमुख जिल्ला अधिकरी गणेशप्रसाद पौडेलले विज्ञ टोली आएर ती बस्तीलाई कहाँ र कसरी सार्ने तथा जग्गाजमिनबारे अध्ययन गरेर बस्ती स्थानान्तरण गर्ने बताउनुभयो ।