• १ मंसिर २०८२, सोमबार

आन्दोलित उखु किसानसँग चार बुँदे सहमति

blog

धनकौल चिनी उद्योग अगाडि धर्नामा बसेका किसान । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर १ गते ।
सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बेचेको उखुको पैसा माग्दै धर्नामा बसेका उखु किसान र उद्योगीबिच विभिन्न चार बुँदे सहमति भएको छ ।

आइतबार साँझ सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमा यस आर्थिक वर्षमा उखुको क्रसिङ गर्दा हुने प्रदूषण नियन्त्रण गर्न उपाय अपनाउने, गत वर्ष मिलले चिनीको मूल्य निर्धारण भएपछि बाँकी रहेको पैसा किसानलाई दिने, यसअघिका उद्योगपति राकेशकुमार अग्रवालले दिन बाँकी उखु किसानको भुक्तानी एक महिनाभित्र गर्ने र उखु मिललाई सञ्चालनका लागि सबै मिलेर सहज वातावरण बनाउने सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा छलफल गरेर सहमति गरिएको हो ।

छलफलमा उद्योगपति शैलेन्द्र गुप्तासमेत सहभागी हुनुभएको थियो । सहमतिसँगै आफूहरु उखुको बक्यौता रकम पाउने आशमा रहेको र तत्काल अब धर्नासहितका आन्दोलनको कार्यक्रम नगर्ने अगुवा उखु किसान रामआधार रायले जानकारी दिनुभयो ।