सर्लाही समाचारदाता
सर्लाही,मंसिर १ गते । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन गरिरहेको छ ।
राष्ट्रपतिबाट गत असोज ९ गते मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी भएपछि सदरमुकाम मलङ्गवास्थित जिल्ला निर्वाचन कार्यालय सर्लाहीले असोज १२ गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।
असोज १२ गतेदेखि शनिबारसम्म सर्लाहीमा पाँच हजार ६१३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारसमेत कार्यालय खोलेर ४९ जना सेवाग्राहीको मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । थपिएका पाँच हजार ६१३ जना मतदातामध्ये तीन हजार २८९ पुरुष र दुई हजार ३२४ जना महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा केही दिन दैनिक आठ सय जनासम्म सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गर्न पुगेका थिए ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र हुनेको मतदाता नामावली दर्ता कार्य घरबाटै गर्न सक्ने व्यवस्था गरेपछि भने कार्यालयमा सेवाग्राहीको चाप घट्न थालेको छ । जिल्ला निर्वाचन अधिकारी साहले भन्नुभयो, “सेवाग्राही अत्यधिक भएपछि चार वटा स्टेसन राखेर काम गरेका थियौँ । अहिले सेवाग्राही घट्न थालेपछि तीन वटा मात्रै स्टेसन सञ्चालन गरिरहेका छौँ ।”
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्याङ्क (बायोमेट्रिक) प्रयोग गरेरै अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । अहिले गाउँ गाउँमा यसरी अनलाइनबाट मतदाता नामावलीमा निःशुल्क नाम दर्ता गराइदिने व्रmम बढेको छ ।
आफू शारीरिक रूपमा अशक्त भए पनि लामो समयदेखि मुसहरसहित अन्य दलित बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आउनुभएका चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका शिवनाथ राउत आफैँले १५० भन्दा बढी व्यक्तिको मतदाता नामावलीमा नाम दर्ता गराइदिएको जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको बायोमेट्रिक्सबाट सबै विवरण आउने भएकाले निर्वाचन आयोगको वेबसाइड राम्रोसँग चल्दा एक जना व्यक्तिको पाँच÷सात मिनेटमै अनलाइनबाट नामावली दर्ता गर्न सक्ने अवस्था रहेको राउतको भनाइ छ ।
घरबाटै अनलाइनमार्फत भरिएको विवरण जिल्ला निर्वाचन कार्यालयले ‘एप्रुभ’ गरेपछि मोबाइल नम्बरमा म्यासेज आउने छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख साहले सर्लाही जिल्लाभरका लागि भरिएको विवरणको एक÷दुई दिनभित्रै एप्रुभ गर्ने काम हुने बताउनुभयो ।
कार्यालयबाट एप्रुभ गरेपछि सम्बन्धित व्यक्तिको फोनमै मतदाता नामावलीमा नाम दर्ता भएको विवरण प्रिन्ट गर्न मिल्ने गरी प्राप्त हुने जिल्ला निर्वाचन अधिकारी साहको भनाइ छ । मतदाता नामावली दर्तामा उत्साहपूर्वक सहभागिता देखिएर भिडभाड बढेपछि निर्वाचन आयोगले पाँच दिन म्याद थप गर्दै मङ्सिर ५ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा गएर तथा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था मिलाएको छ ।