• १ मंसिर २०८२, सोमबार

टेन्टभित्रै त्रैमासिक समीक्षा

blog

रानी समाचारदाता 

रानी (मोरङ), मंसिर १ गते । जेनजी समूहको आन्दोलनका कारण भवनमा क्षति पुगेपछि महानगरले टेन्टभित्रै चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा गोष्ठी सञ्चालन गरेको छ । नगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको गोष्ठीमा चालु आवको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्य प्रगति प्रस्तुत गरिएको थियो । 

कार्यव्रmममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुङ्गाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आआफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपत् तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो । 

समीक्षा अवधिमा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७७९ रुपियाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यस अवधिमा तीन हजार ५५ वटा व्यवसाय नवीकरण गरेको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिनुभयो ।

 जेनजी आन्दोलनका व्रmममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको छ ।