भक्तिविलास पोखरेल
गाईघाट, मंसिर १ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका–५ स्थित २५० वर्ष पुरानो ऐतिहासिक धरोहर उदयपुरगढी पुनर्निर्माण भएसँगै पर्यटकीय स्थल बनेको छ । विगतमा भग्नावशेष मात्र रहेको यो गढीको कोशी प्रदेश र स्थानीय पालिकाको लगानीमा पुनर्निर्माण भएको हो ।
उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाख रुपियाँको लगानीमा गढीको पुनर्निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो ।
पन्ध्रौँ शताब्दीको अन्तिमतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । नेपालका १०१ पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक भएकाले प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको अध्यक्ष मगरले बताउनुभयो । हालको पुनर्निमित संरचनाले ऐतिहासिक युद्धभूमि उदयपुरगढीको तत्कालीन झलक दिएको छ । पुनर्निर्माण भएसँगै आजभोलि दैनिक पाँच सयभन्दा बढीले अवलोकन गर्ने गरेको र शनिबार तथा अन्य बिदाका दिन त आन्तरिक र बाह्य पर्यटकको भिड बढ्ने गरेको अध्यक्ष मगरले बताउनुभयो ।
गढीको मुख्य द्वार, तोप, राजा चढेको घोडा, मन्दिर र पर्खाल पौराणिक र ऐतिहासिक महìवले भरिपूर्ण रहेका छन् । गढीछेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चवतीमाईको मन्दिर, करिब तीन सय वर्ष पुराना बरपिपल, प्रस्तर स्तम्भ, सिंहको मूर्ति र गणेश भगवान्का मूर्ति विशेष छन् ।
त्यहाँका ऐतिहासिक र पौराणिक कुरा अत्यन्तै महìवपूर्ण रहेको पालिका उपाध्यक्ष जितबहादुर खड्काले बताउनुभयो । त्यहाँ पर्यटकले हेर्ने र रमाउने, अध्ययन अवलोकन गर्ने र शिक्षा लिने कुरा अनगिन्ती रहेकाले तत्कालीन राजा उदयचन्द्र सेनको नामबाटै जिल्लाको नाम पनि उदयपुर रहन गएको हो भन्ने भनाइ छ ।
उदयपुरगढी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले उदयपुरगढी अब महìवपूर्ण पर्यटकीय स्थलका रूपमा स्थापित भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यसको प्रचारप्रसारमा जोड दिनु पर्छ । यसको संरक्षण एवं प्रवर्धनलाई ध्यानमा राखेर काम थालिएको छ ।” गढी घुम्नका लागि टिकट प्रणाली लागु गरिएको छ । ठेक्का प्रणालीबाट त्यहाँ टिकट काट्ने र सुरक्षा एवं संरक्षण गर्ने कार्य थालनी भएको छ । पर्यटकलाई सहजताका लागि सरसफाइ, खानेपानी, शौचालयको उचित प्रबन्ध मिलाइएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।
समुद्र सतहदेखि एक हजार १६० मिटर उचाइ र सदरमुकाम गाईघाटदेखि करिब ३२ किलोमिटर उत्तरपश्चिममा रहेको गढीमा चिसो, स्वच्छ हावा, हिमाल र तराईको दृश्यावलोकन र ऐतिहासिक पुराताìिवक सम्पदाको अवलोकन गर्न सकिन्छ ।