• १ मंसिर २०८२, सोमबार

गाउँ ब्लाक जग्गा फुकुवा कार्यान्वयनको माग गर्दै धर्नामा

blog

लहान मालपोत कार्यालय अगाडि धर्ना बसेको गाउँ ब्लक संघर्ष समिति लहानका पदाधिकारीहरु । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, मङ्सिर १ गते ।
लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँ ब्लक संघर्ष समिति लहानले गाउँ ब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै धर्नामा बसेको छ  ।

लहान नगरपालिामा झण्डै सात हजारको हाराहारीमा गाउँ ब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीयहरु संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् ।

जग्गा फुकुवा कार्यान्वयन प्रक्रिया अघि नबढ्दा बैंकबाट वित्तीय कारोबार जग्गा बिक्री वितरण लगायतका कार्यहरु ठप्प भएको लहान ९ का नेपाली साहले जानकारी दिनुभयो । उहाँले यस समस्यालाई समाधान गर्न लहान नगरपालिका ६का पूर्व वडाध्यक्ष अरुण केसीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर संघर्ष गर्दै आइरहेको बताउनुभयो ।

मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला नियमित कार्यालयमा नबस्ने संघर्ष समितिसँग विगतमा भएको सहमति अनुसार जग्गाअध्यावधि गर्न कर्मचारीको अभाव देखाएपछि लहान नगरपालिकाले कम्प्युटर र दुईजना कर्मचारी समेत व्यवस्थापन गरिदिए पनि आलटाल गरिरहेकको संघर्ष समितिका संयोजक अरुण केसीले बताउनुभयो । उहाँको अनुसार कात्तिक ३० गते धर्ना कार्यक्रम, मङ्सिर १ गते रिले अनसन र २ गतेदेखि आमरण अनसनमा बस्ने कार्यक्रम रहेको छ ।

गाउँ ब्लक जग्गा फुकुवा कार्यान्वयनका लागि मन्त्री परिषद् स्तरीय निर्णय समेत भइसकेकाले यसको कार्यान्वयनको मालपोत कार्यालय लहानका प्रमुख निरौलाले किन आलटाल गरिरहेको बुझ्न नसकेर दबाब दिन आन्दोलन गर्नु परेको लहान वडा नम्बर ५ का नेपाली कांगेसका नेता राम सुन्दर चौधरीले बताउनुभयो । यस समस्यालाई समाधान गर्नका लागि प्रशासनिक पहल गर्न सबै जानकारी लिइसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भन्दै मालपोत कार्यालय प्रमुख निरौलासँग छलफल गरेर चाँडै समस्या समाधान गरिने बताउनुभयो ।