• ३० कात्तिक २०८२, आइतबार

सवारी दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ लगियो

blog

सर्लाहीको ब्रह्मपुरीमा भएको सवारी दुर्घटनाका घाईतेलाई काठमाडौं लैजान आएको हेलिकप्टर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, कात्तिक ३० गते । सर्लाहीको दुई फरक स्थानमा आइतबार भएको सवारी दुर्घटनाका घाइतेलाई थप उपचारका लागि बेग्लाबेग्लै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

जिल्लाको ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाका घाइतेलाई बयलवासमा सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टर मगाएर काठमाडौं लगिएको हो । 

प्रहरीका अनुसार ब्रह्मपुरी गाउँपालिका–२, धर्मपुर टोलमा ना ४१ प ३३०९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका–७, बयलवास बस्ने २० वर्षीय उमर मिकरानी घाइते हुनुभएको छ । 

मिकरानी आफ्नै दाई २५ वर्षीय होजइफा मिकरानीले चलाएको मोटरसाइकलको पछाडि बस्दा दुर्घटना भइ टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते हुनुभएको प्रहरीले जनाएको छ । 

यस्तै चन्द्रनगर गाउँपालिका–२, बिर्ता बजारमा प्रदेश २–०२–००१ त २२४१ नम्वरको ट्याक्टर र प्रदेश २–०३–०१३ प १९९७ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–३, बडकुर्वा बस्ने २८ वर्षीय अक्षयकुमार सिंह कुशवाहा घाइते हुनुभएको छ ।

 कुशवाहको बायाँ तीघ्रामा चोट लागेको प्रहरीले जनाएको छ । 

ब्रह्मपुरी दुर्घटनाका घाइते मिकरानीलाई अमृत हेल्थ केयर बयलवास र चन्द्रनगर दुर्घटनाका घाइते कुशवाहालाई गोदावरी हेल्थ केयर बयलवासमा सामान्य उपचारपश्चात परिवारले बेग्लाबेग्लै हेलिकप्टर मगाएर थप उपचारका लागि काठमाडौंतर्फ लगेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिनुभयो ।

 इन्स्पेक्टर सिंहका अनुसार चन्द्रनगरको दुर्घटनामा संलग्न ट्याक्टर पक्राउ गरिएको छ भने चालक फरार रहेका छन् ।