गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । जलवायु न्यायको लागि जलवायु अभियन्ता, अधिकारकर्मीहरूले विश्वव्यापी प्रदर्शनको आयोजना गरेका छन् ।
ब्राजिलको बेलेममा भइरहेको संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप–३० मा सामाजिक, वातावरणीय, आदिवासी र मानवअधिकारको सवाल पनि उठाउन सम्बिन्धत देशहरूलाई जागरुक बनाउने उद्देश्य र मागसहित नेपाललगायत विश्वभरका हजारौँ जलवायु अभियन्ताहरूले विश्वव्यापी प्रदर्शनमा सहभागिता जनाएका हुन् ।
एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टले कोप–३०को सम्मेलनको अवसरमा जलवायु न्यायका लागि एसियाभरमा देशहरूमा एकसाथ प्रदर्शनको संयोजन गरेको हो ।
एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टका संयोजक लिडी नेकपिलले जलवायु न्यायका लागि विश्वभरका अभियन्ताले एकैपटक प्रदर्शन गरेर जलवायुु परिवर्तनको असर कम गर्नुपर्ने, खाद्य सुरक्षा, र सार्वजनिक स्वास्थ्य जस्ता साझा मुद्दाहरूलाई सम्बोधन गर्न सकारात्मक दबाब सिर्जना गरिएको बताउनुभयो ।
नेपालमा, श्रमिक, ग्रामीण समुदाय र जलवायु न्यायका पक्षधरहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूले प्रदर्शनमा सहभागीता जनाएर पग्लिरहेको हिमनदी, अनियमित मनसुन, बाढी र खेतीमा परेको प्रभाव कम गर्दै जलवायु वित्त पाउनुपर्ने माग राखेका छन् ।
प्रदर्शनीमा सहभागी नेपाल ट्रेड युनियन महासङ्घले जलवायु परिवर्तनबाट प्रभावित नेपाली श्रमिक, महिला, सिमान्कृत वर्गलाई ऊर्जा नविकरण, रोजगारीको विकल्पको व्यवस्था गरेर सुरक्षित जीविकोपार्जन, उचित तालिम र बलियो सामाजिक सुरक्षा दिनुपर्ने जनाएको छ ।
ग्रामीण पुनर्निर्माण नेपालका बौद्धिक व्यवस्थापक निक्की श्रेष्ठले जलवायुको प्रभावले खेतीपाती कीराको प्रकोप बढेको, सिँचाइ तथा खानेपानीका स्रोत सुक्दा समस्यामा परेकोले स्थानीयको जीवनशैलीमा परेको प्रतिकुल असर कम गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वभरका सामाजिक र वातावरणीय अभियन्ताहरूले हजारौँ मानिसहरू जलवायु सङ्कटका प्रभावहरूसँग सङ्घर्ष गर्नुपरेकोले कार्वन उत्सर्जन घटाउनुपर्ने जलवायु वित्तको वितरणमा पारदर्शीताको मागसहित विश्वभरका प्रमुख सहरहरूमा स्थानीय समुदायले प्रदर्शन गरेका छन् ।
विश्वका १६ देशहरूमा एक सय भन्दा बढी जुलुस, प्रदर्शन र कार्यक्रमहरू आयोजना गरेर अभियन्ताहरूले जलवायु परिवर्तनमा नीतिगत असमानता, वातावरणीय क्षतिमा मौलाइरहेको दण्डहीनताको निन्दा गर्नुपर्ने प्लेकार्डसहित सहभागिता जनाएका छन् ।
कोप ३० मा सहभागी राष्ट्रहरूले कार्वन उत्सर्जन कटौती गर्न प्रतिबद्धता जनाउनुपर्ने, कार्वन उत्सर्जन नगर्ने देशलाई जलवायु वित्त प्रदान गर्न, जलवायु वित्त कोष सञ्चालन गर्न र भुमिगत इन्धनको प्रयोग घटाउनुपर्ने मागसहित आयोजित प्रदर्शनमा एसियाका फिलिपिन्स, भारत, बङ्गलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी सहरहरूमा करिब १० हजार अभियन्ताहरूले सहभागिता जनाएका छन् ।