• १३ साउन २०८१, आइतबार

कित्ताकाट रोक्का कायमै : हेटौँडा उमनपाको बजेट पारित

blog

हेटौँडा, असार २२ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाएको छ । रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले निर्णय गरेको हो । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो । 

बैठकले सामाजिक विकास महाशाखाप्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्व जग्गा वर्गीकरण कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि नगरप्रमुखको अध्यक्षतामा रहने भूउपयोग परिषद्मा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागू गरिने भएको छ । त्यसपछि मात्र हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सञ्चालन हुने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

यसैगरी कार्यपालिका बैठकले नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहतकोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाको तर्फबाट शिक्षकको सूची तयार गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुविधासमेतमा सहजीकरण गर्ने गरी आधारभूत अस्पताल सञ्चालन गर्न दुई जना आठौँ तहमा चिकित्सक नियुक्ति गर्ने र वृत्ति विकाससम्बन्धी विशेष ऐन, २०७५ खारेज गरी नयाँ  ऐन निर्माण गर्ने निर्णय गरेको छ ।

यसैबीच ११औँ अधिवेशनको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक, विनियोजन विधेयक र नीति  तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । उपमहानगरले आगामी आवका लागि दुई अर्ब ७१ करोड ७९ लाख रुपियाँ बराबरको बजेट ल्याएको छ । पूर्वाधार विकासतर्फ एक अर्ब आठ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ नौ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ तीन करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि तीन करोड ५८ लाख, वातावरण तथा विपत् व्यवस्थापनतर्फ १२ करोड छ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ सात करोड ३३ लाख र विविध शीर्षकमा ९९ लाख रुपियाँ विनियोजन गरिएको छ ।

बजेटका लागि आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको अनुदानबाट नौ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट एक अर्ब छ करोड ९५ लाख, अन्य आय र सङ्घसंस्थाबाट एक करोड ९६ लाख रुपियाँ प्राप्त हुने अनुमान उपमहानगरको छ ।