• ३० कात्तिक २०८२, आइतबार

तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा

blog

कार्यक्रममा सहभागी सुनचाँदी व्यवसायीहरु। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक ३० गते। गुल्मीको तम्घासमा सुनचाँदी व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ। कर शिक्षाबारे जानकारी नहुँदा सुनचाँदी व्यवसायीहरुलाई समस्या झेल्नुपर्ने परेको हुँदा करदाता सेवा कार्यालय गुल्मीको आयोजना तथा गुल्मी सुनचाँदी व्यवसायी सङ्घको सह–आयोजनामा कर शिक्षा प्रदान गरिएको हो। 

यस जिल्लाका सुनचाँदी व्यवसायीहरुलाई करसम्बन्धी ज्ञान, कानुनी दायित्व र व्यवसाय सञ्चालनका आवश्यक औपचारिकता लगायतका विषयमा जानकारी गराइएको थियो। करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत विमल घर्तीले सुनचाँदी व्यवसायीहरुलाई वर्तमान विलासिता शुल्क, बिल–बिजक व्यवस्थापन, कर विवरण अद्यावधिक राख्ने प्रक्रिया तथा व्यवसायमा आवश्यक पर्ने कानुनी आधारहरुबारे विस्तृत जानकारी गराउनुभयो। 

कर छली वा त्रुटिपूर्ण लेखापालना व्यवसायको लागि जोखिमपूर्ण हुने भएकाले खरिद–बिक्री अभिलेख, खाता–पाता तथा बिल–बिजक व्यवस्थित राख्नु अहिलेको अत्यावश्यक भएको उहाँले बताउनुभयो। गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले व्यवसाय र कर प्रशासनबीच सहकार्य तथा विश्वासका सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो। 

सहभागी व्यवसायीहरुले विलासिता शुल्क, बिल प्रणाली, कारोबार दर्ता तथा कर विवरण प्रस्तुत गर्दा आउने प्राविधिक जटिलताबारे प्रश्न गर्दै प्रशिक्षण उपयोगी भएको प्रतिक्रिया दिनुभयो। यस्ता प्रशिक्षणले व्यवसायलाई कानुनी रुपमा सुदृढ बनाउनुका साथै पारदर्शी कारोबार प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँहरुको भनाइ थियो ।