• ३० कात्तिक २०८२, आइतबार

धनुषामा सर्प महोत्सव सुरु

blog

महोत्सवमा प्रदर्शनीमा राखिएका सर्प । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, कात्तिक ३० गते । धनुषाको मिथिला बिहारी नगरपालिका–२, जनमुक्ति चोकस्थित कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ । मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा सर्प महोत्स आयोजना गरिएको हो । 

सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारा दिएर सुरु भएको महोत्सव कार्तिक ३० र मङ्सिर १ गतेसम्म रहने आयोजना संस्थाले जानकारी दिएको छ । 

आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउन महोत्सको आयोजना गरिएको बताउनुभयो । महोत्सवले सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्ने उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सर्पलाई अझै पनि अन्धविश्वास र डरको प्रतीकका रूपमा हेरिने हुँदा सर्प संरक्षण चुनौती बनेको छ । सर्प केवल डस्ने जीव होइन यो वातावरण सन्तुलन राख्ने अभिन्न अङ्ग हो ।’ 

उहाँका अनुसार महोत्समा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार प्रक्रिया, तथा उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिने व्यवस्था मिलाइएको छ । त्यस्तै, सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी, जीवित सर्प प्रदर्शनीमा राखिएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।