नारद कोहार
तौलिहवा(कपिलबस्तु), कात्तिक ३० गते । विद्यार्थीको व्यक्तित्व विकास तथा गुणस्तरिय शिक्षा प्रवर्धन गर्न कपिलबस्तुमा एस.क्यू.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको १० औं सम्मेलन हुने भएको छ । शुद्धोधन गाउँपालिकाको बग्दी स्थित सनलाइट अंग्रेजी बोर्डिङ स्कुलमा अगामी मङ्सिर ५ र ६ गते क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा गर्न लागिएको हो । आयोजकले पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम बारे जानकारी गराएको छ ।
सम्मेलनमा कपिलवस्तुका १७ विद्यालयका ७ सय विद्यार्थी सहभागी हुने र अन्य जिल्लाका ८ विद्यालयका विद्यार्थी पर्यवेक्षकको रूपमा समावेश हुने बताइएको छ । क्वेस्ट नेपाल लुम्बिनी हवका कोर्डिनेटर मदन मल्लका अनुसार १७ विद्यालय क्वेस्ट नेपालका सदस्य मध्येबाट उपस्थित हुने र अन्य ८ विद्यालयका विद्यार्थी पर्यवेक्षकको रूपमा सहभागी हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी हवका कोर्डिनेटर मल्लले एस.क्यू.सी.अन्तर्गत विद्यार्थीको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरी समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपायहरू पहिल्याउने र आफै एवं अरूको सहयोगमा ती समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा बृहत् सांस्कृतिक कार्यक्रम, क्विज, हिज्जे, व्यक्तित्वसँगै उद्घोषण तालिम तथा ए.आई. सम्बन्धि प्रशिक्षण दिनुका साथै अन्य विभिन्न विधामा प्रतियोगिता गराइने समेत जानकारी गराइएको छ ।
कार्यक्रममा प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र बिक्रम सिंहले कार्यक्रममा सम्पुर्ण क्रियाकलापको जिम्मेवारी विद्यार्थीलाई दिइने भएकाले प्रभावकारी हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले विद्यार्थीको शारिरीक, मानसिक, संवेगात्मक समग्र सबै पक्षको विकास हुने भएकाले कार्यक्रमको सफलताको शुभकामनासमेत दिनुभएको छ ।
कार्यक्रमका सनलाइट अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सच्चिदानन्द त्रिपाठीले विद्यार्थीलाई श्रृजनशील बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पुर्याउने र अन्तर्राष्ट्रिय स्तरका विधार्थीसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सनलाइट अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीको स्वागत तथा क्वेस्ट नेपाल लुम्बिनी हबका सचिव डम्बर बहादुर सोमैको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी हवमा आबद्ध विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा विभिन्न सञ्चार गृहका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।