बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक ३० गते । सिन्धुलीको कमलामाई नगरपालिका–१, डाँडी निवासी ७५ वर्षीया सहवीर विक आँखाको मोतियाविन्दु रोगको सल्यक्रियापछि दुबै आखाँ देख्न सक्ने भएर आइतबार घर फर्किनु भएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सामुदायिक आँखा उपचार केन्द्रमा शनिबार सञ्चालित निःशुल्क आँखाको अप्रेसन शिविरबाट आफुले उक्त अवसर मिलेको उहाँले सुनाउनुभयो ।
‘शिविरमा निःशुल्क देब्रे आँखाको अप्रेसन गर्ने अवसर पाँए,’ उहाँले भन्नुभयो, ‘चार वर्षदेखि देब्रे आँखा बिरामी भएर राम्रोसँग केही देख्दिन थिए । अलिअलि मधुरो देख्थे, केही ठम्याउँदैन थियो । अहिले उक्त आँखाको अप्रेसन गरेपछि दुबै आँखाले राम्रोसँग हेर्ने र देख्न सक्ने भएको छु ।’ चार वर्षपछि दुबै आँखाले संसार देख्न पाउँदा नयाँ जिन्दगी पाए जस्तै लागेको उहाँले सुनाउनुभयो ।
आर्थिक रूपमा विपन्न भएका कारण बाहिर गएर उपचार गर्न नसकिरहनु भएका सहवीर शिविरमा निःशुल्क आँखाको उपचार गर्न पाउदा दङ्ग पर्नु भएको छ । त्यस्तै सर्लाही जिल्लाको बागमती नगरपालिका निवासी ७५ वर्षीया टमकुमारी खड्काले पनि सोही शिविरमा आफ्नो देब्रे आँखाको निःशुल्क सल्यक्रिया गरी उपचार गराउनुभयो ।
आफ्नो आँखा एक वर्षदेखि बिरामी भएको र विभिन्न ठाँउमा चिकित्सकलाई देखाउदा अप्रेशन गर्नु पर्छ भनेकाले उक्त शिविरमा आई आँखाको अप्रेसन गरेर उपचार गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बुढेसकालमा आँखाको ज्योति गुम्न थालेपछि चिन्ता लागेको थियो । कति वर्षलाई हो, अब देख्न सक्ने भएकी छु ।’ आँखाले राम्रोसँग काम नगर्दा शाैचालय जान पनि निकै कठिन भएको उहाँको अनुभव छ ।
शिविरबाट निःशुल्क उपचारको अवसर लिने सहवीर र टमकुमारी त उदाहरण मात्र हुनुहुन्छ । शिविरमा उपचार गर्ने अधिकांश जेष्ठ नागरिक गुमिसकेको आँखा फेरि फिर्ता पाउँदा र राम्रोसँग आँखा देख्ने भएपछि खुसीले फुरुङ्ग भएका छन् ।
नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीका अनुसार रुईत फाउन्डेसन र जानकी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा मोतिविन्दु रोग लागेका ७७ जनाको आँखाको निःशुल्क अप्रेसन गरी उपचार गरिएको छ । उपचारपछि बिरामीहरूलाई निःशुल्क आवश्यक औषधी र चस्मा समेत उपलब्ध गराएको उक्त शाखाका सभापति अशाेक श्रेष्ठले जानकारी दिनुभयो । अप्रेसन गरेका बिरामी सबैलाई आइतबार डिस्चार्ज गरी घर पठाएको उहाँले बताउनुभयो ।