शेरबहादुर सार्की
बाजुरा, कात्तिक ३० गते । बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउली खोलामा पुल निर्माणको काम सुरु गरिएको झण्डै पाँच वर्ष भयो । पुल निर्माणको काम सम्पन्न गर्नका लागि जिम्मा लिएको एक वर्षमै काम सम्पन्न गर्नु पर्ने थियो ।
तर ठेकेदार कम्पनीको लापरबाहीका कारण सो खोलामा अहिले सम्म पुल निर्माणको काम जम्मा पन्ध्र प्रतिशत मात्र भएको छ ।
२०७८ भदौ १५ गते सो खोलामा २५ मिटर पुल निर्माणका लागि टिडिआर जुगल कौसिक जेभिले पुल निमार्णको जिम्मा लिएको थियो । कम्पनीले जिम्मा लिएको सो पुल २०७९ फागुन २५ गते सम्पन्न गरि सक्नु पर्ने सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
खोलामा पुल नहुँदा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका लगायतका स्थानीयलाई बर्खाको समय ज्यान जोखिममा राखेर खोला तर्नु पर्ने अवस्था छ ।
यहाँ हिउँदको महिना मार्तडी देखि कोल्टी सम्म चल्ने सवारी साधन बर्खाको समय बाउली खोलामा पुल नहुँदा ती मार्तडीमै रोकिने गरेका छन् । यसरी सवारी साधन मार्तडीमा रोकिने गरेपछि उनीहरूलाई बर्खाको समय ज्यान जोखिममा पारेर खोला तर्न बाध्यता भएको हो ।
मार्तडी देखि कोल्टी सडक पुगेको झण्डै बीस वर्ष भयो । तर बाउली खोलमा पुल भने अँझै निर्माण हुन सकेको छैन् । पुल चाँडो निर्माण नहुँदा यहाँका स्थानीयहरूले सरकारी कामकाजका लागि कोल्टी देखि मार्तडी आउजाउमा निक सास्ती खेप्दै आउनु परेको छ ।
जिल्लाको पुर्वि उत्तर क्षेत्रमा उत्पादन भएको स्याउ पनि बाउली खोलमा पुन चाँडो निर्माण भएकै कारण बारीमा थन्किने गरेको बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनका स्थानीय स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “असार देखि असोज सम्म बाउली खोलामा पानीको बहाव धेरै हुन्छ । त्यति बेलामा त्यस खोलामा गाडी चल्न सक्दैन । यता बारीमा भने स्याउ पाकेर लटरम्म हुने गर्छन् । बाउली खोलामा पुल नभएकै कारण हामीले ती स्याउ समयमा बजार सम्म पुगाउन नसक्दा बर्सेनि घाटा बेहोर्नु परेको छ ।
मार्तडी कोल्टी सडकको मुख्य समस्या भनेकै बाउली खोलामा पुल निर्माण नहुनु हो । हिउँदको महिना बाउली खोलामा पानी कम भएको कारण गाडी मार्तडी देखि कोल्टी सम्म पुग्ने गर्छन् । भने वर्खाको समय पानीको बहाव धेरै हुने गरेको ती गाडी कोल्टीमै रोकिने गर्छन् । जसका कारण हामीले उत्पादन गरेको फलफुल बिक्रीका लागि बजार सम्म लैजान निकै समस्या हुने गरेको रावतले बताउनुभयो ।
यहाँका स्थानीय ठेकेदार कम्पनीलाई बारम्बार भन्ने गरेको भए पनि उनीहरूले आफ्नै मनमर्जीमा काम गर्ने गरेकोले अहिले सम्म बाउली खोलामा पुल निर्माणको काममा ढिलाे भएको हो ।
बर्खाको समय खोलामा काम गर्न समस्या भएर काम रोकिने गरेको थियो । काम गरेको केही भाग बर्खाको बाढी आएर बगाए पछि पुल निर्माणको काम ढिलाई भएको हो ।
यता यतिबेला फेरि पुल निर्माणका लागि म्याद थप गरेको छ । सोही अनुसार काम सम्पन्न गर्ने गरी एक हप्ता भित्र पुन काम सुरु गर्ने पुलको जिम्मा लिएका ठेकेदार भोजराज बुढाले बताउनुभयो ।
आर्थिक वर्ष २०७९ साल फागुन १५ गते भित्र काम सम्पन्न गर्ने गरी २०७८ कात्तिक १५ गते सो कम्पनीले कामको जिम्मा लिएको सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष शाहले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ जिम्मा लिएको पाँच वर्षमा पनि काम भने जम्मा पन्ध्र प्रतिशत मात्र भएको छ ।हामीले पनि उहाँलाई धेरै पटक काम चाँडो गर्नु भनेर पत्राचार गरेको हो । तर पनि उहाँको लापरबाहीका कारण पुल निर्माणमा निकै ढिलाे भएको छ ।”
अहिले उहाँलाई फेरि २०८२ फागुन ११ गते काम सम्पन्न गर्ने गरी म्याद थपेका छौं । सोही म्याद अनुसार काम सम्पन्न गर्ने गरी उहाँ यती बेला काम सुरु गरेको छ । सो समयमा पनि काम गरेन भने फेरि म्याद नथप्ने तयारी रहेको इन्जिनियिर शाहले बताउनुभयो ।