हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ३० गते । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–४ छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयको भवन बनाउन तीन करोड बजेट विनियोजन भएको छ । अध्यागमन(इमिग्रेसन) कार्यालय उद्घाटन भएको एक वर्षपछि सेवा सञ्चालन गरेपछि पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चालु आर्थिक वर्ष २०८२/०८३ बाटै काम सुरू गरिने भएको हो ।
नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको पछाडि करिब १२ रोपनी क्षेत्रफल रहेको अध्यागमन(इमिग्रेसन)कार्यालयको जग्गामा पक्की संरचना बनाउन विनियोजन भएको बजेटले अपुग भएमा थप गरिनेछ ।
अध्यागमन कार्यालयको समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ आसपासमा समेत जग्गा भए पनि कार्यालय स्थापनाका लागि उपयुक्त नेचुङ रहेको बताइएको छ । हाल अस्थायी संरचनाबाट सेवा प्रवाह गरेको कार्यालयबाट पहिलोपटक लोमन्थाङ गाउँपालिकका अध्यक्ष टसी न्हुर्वु गुरुङको नेतृत्वमा १३ जना जनप्रतिनिधिको टोली कोरला नाकाबाट तिब्वतका सहरहरूको भ्रमण गरी फर्किएपछि अध्यागमन कार्यालय सञ्चालनका लागि नेपाल सरकारले चासो देखाएको छ ।
अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले पक्की संरचना भएमा सेवा प्रवहाका लागि समेत सहज बनाउन जग्गा नापजाँचसहितको प्रक्रिया सुरू भएको बताउनुभयो । कार्यालयको नाममा रहेको जग्गालाई अस्थायी तथा स्थायी रुपमा प्रयोग गर्न सकिने प्रमुख बडुवालको भनाइ छ ।
नेचुङमा पक्की संरचना बनाउने र कोरला नाकामा समेत सेवा प्रवाहका लागि अस्थायी संरचना बनाएर मंसिरदेखि माघ बाहेक अन्य सेवामा सेवा सहज गरउने कार्यालयले जनाएको छ । गत भदौ महिनाको ३० गतेदेखि कोरला नाका व्यावसायिक रुपमा सञ्चालनमा आएपछि भन्सारबाट नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला) बाट सडक सञ्जाल हुँदै तिब्वतको सहरमा जान चाहने बढेका छन् ।
नेपालस्थित चिनियाँ दुतावासबाट भिसा लिएर अन्य कानुनी प्रक्रिया पूरा गरेकालाई कोरला नाकाबाटै सहजै जान सकिने भएपछि अब अध्यागमन कार्यालयको सेवा प्रवाह बढ्ने अनुमान गरिएको छ । केहीदिन अगाडि गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीसहितको टोलीले समेत अध्यागमन (इमिग्रेसन), भन्सार कार्यालय, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)सहित नाकामा रहेका सरकारी संयन्त्र तथा संरचनाको निरीक्षण गर्नुभएको थियो । उपल्लो मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म अत्यधिक चिसो तथा हिमपातका कारण कार्यसम्पादनमा समस्या हुने भएकाले कोरला नाका नजिक अस्थायी र नेचुङमा पक्की संरचना बनाउन अन्य सरकारी निकायले समेत आफ्नो मातहतका निकायमा सुझाव दिने गरेका छन् ।