• ३० कात्तिक २०८२, आइतबार

रातामाटा–प्याकलुक सडक स्तरोन्नति हुने

blog

रामपुर समाचारदाता

रामपुर (पाल्पा), कात्तिक ३० गते । पाल्पा रामपुर नगरपालिकाको रातामाटादेखि प्याकलुक पक्की पुल जोड्ने सडक स्तरोन्नति हुने भएको छ । वडा नं. ७ को रातामाटा, कठान वडा नं. ६ को गैटार हुँदै प्याकलुक पुल जोड्ने सडकखण्ड स्तरोन्नति हुने भएको हो । 

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि यो सडकखण्डको स्तरोन्नति गर्न लागेको हो । बहुवर्षीय योजनाको सडक पूर्वाधार विकास कार्यालय तानसेनसँग ठेक्का सम्झौतासँगै निर्माण कम्पनीले स्तरोन्नति सुरु गरेको छ । छ करोड १४ लाख ९९ हजार ४१२ लागत अनुमान रहेको योजनाको पशुपति मोबाइल जेभी रामपुरले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत कात्तिक १६ गते भ्याटसहित तीन करोड ८४ लाख ६२ हजार ६६२ मा सम्झौता गरेको थियो । 

शुक्रबार सडक स्तरोन्नतिको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले रामपुर नगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्न प्रदेशले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको बताउनुभयो । मुलुकको परिस्थितिसँगै समयमा बजेटको व्यवस्थापन नहुँदा कतिपय आयोजना प्रभावित बनेको बताउँदै उहाँले सञ्चालनमा रहेका आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापनको पहल गर्ने बताउनुभयो । 

सडक पूर्वाधार विकास कार्यालय तानसेनका प्रमुख वासुदेव भण्डारीले आयोजनामार्फत दुई हजार सात सय मिटर सडक पिचसँगै दुई सय मिटर सडक ढलान र आवश्यक स्थानमा मेसिनरी वाल तथा नाली निर्माण हुने बताउनुभयो ।