• ३० कात्तिक २०८२, आइतबार

बाह्र मतदान केन्द्र अति संवेदनशील

blog

मतदाता नामावली दर्ता गर्न लाइनमा सर्वसाधारण ।

परासी समाचारदाता

परासी, कात्तिक ३० गते । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदान स्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरका मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरेको छ ।

जिल्लाका सात पालिकामध्ये १२ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । अति संवेदनशीलको सूचीमा सबैभन्दा बढी सुस्ताका चार स्थान परेका छन् । जिल्लामा यसअघि कायम गरिएका १२० मतदान स्थललाई नै कायम गरिएको छ । जसमा जम्मा २८७ मतदान केन्द्र निर्धारण गरिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले यी मतदान केन्द्र २०७० सालको पुराना मतदाता नामावलीका आधारमा निर्धारण गरिएको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुजाता खत्रीले नामावली सङ्कलनपछि केन्द्र थपघट हुन सक्ने जानकारी दिनुभएको छ । १६ वर्ष पूरा भई नेपाली नागरिकता पाएका नागरिकले निर्वाचन कार्यालयमा नामावली दर्ता गरिरहेका छन् । नयाँ मतदाता नामावली सङ्कलन कार्यक्रममा हालसम्म झन्डै एक हजार छ सय नयाँ मतदाता थपिएका छन् । 

निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले तयारी कामलाई प्रभावकारी रूपमा समन्वयात्मक ढङ्गले अघि बढाएको जानकारी दिएको छ । यसअघिको २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लामा दुई लाख ४० हजार ९३० मतदाता थिए ।