• ३० कात्तिक २०८२, आइतबार

हट्यो बार्दलीमा पढ्नुपर्ने बाध्यता

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, कात्तिक ३० गते । भिरकोट नगरपालिका अन्तर्गतको गढीभन्ज्याङ आधारभूत विद्यालयमा बार्दली र सिँढीमा विद्यार्थीले पढ्नुपर्ने बाध्यता अन्त्य भएको छ । यहाँ नगरपालिकाको सहयोगमा दुईकोठे नयाँ भवन बनेपछि लामो समयबाट बार्दली र सिँढीमा पढ्नुपर्ने विद्यार्थीको बाध्यता हटेको हो । 

जिल्लामा पहिलो पटक बालमैत्री घोषणा भएको भिरकोट नगरपालिकामा २०७२ सालको भूकम्पमा परी विद्यालय भवनमा क्षति पुगेपछि सिँढी र बार्दली नै कक्षाका रूपमा प्रयोग  गरिएको थियो । शिशुदेखि कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा कक्षाकोठाको अभावमा सात वर्षसम्म सिँढी र बार्दलीमा विद्यार्थी पढाउनुपर्ने बाध्यता बनेको थियो । 

विद्यालयका प्रधानाध्यापक सरला विकले आर्थिक वर्ष २०८१/८२ को बजेटमा दुईकोठे भवन निर्माण भएपछि बार्दली र सिँढीमा पढाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । नगरपालिकाले कक्षाकोठा निर्माणका लागि पाँच लाख रकम विनियोजन भएकोमा पाँच लाख २० हजार लागतमा टिनले छाएको दुईकोठे भवन निर्माण सम्पन्न भएपछि कक्षाकोठामा नै पठनपाठन सुरुवात गरेको विकले बताउनुभयो ।