मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, कात्तिक ३० गते । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूलाई प्राप्त हुने तलब भत्ताको रकम र व्यक्तिगत खर्चमा सडक निर्माण गर्न लाग्नुभएको छ । अध्यक्ष कालाखेतीले गाउँपालिकाको वडा नम्बर २ मा ढलानसहितको सडक निर्माण गर्ने जानकारी दिनुभयो । वडा नम्बर २ कार्यालय भुन्द्रुङ टाँडीदेखि कर्मचोकको गाउँबस्तीलाई जोड्ने दुई सय मिटर सडकलाई स्ल्याब गर्ने अध्यक्ष कालाखेतीले शनिबार औपचारिक कार्यव्रmममा घोषणा गर्नुभएको हो । २० लाख रुपियाँको लगानीमा दुई सय मिटर लम्बाई र छ मिटर चौडाइको सडक ढलान हुने मनहरी गाउँपालिकाका प्राविधिक टुकराज चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाका नौ वटा वडामध्ये सबैभन्दा विकट रहेको दुई नम्बरको भुन्द्रुङ टाँडीका स्थानीयले अझैसम्म पनि खानेपानी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र तटबन्धनको समस्यासँग जुध्नु परेको अध्यक्ष कालाखेतीले बताउनुभयो । उनीहरू दैनिक जस्तो यस्ता आधारभूत आवश्यकताको समस्या लिएर पालिका धाउने गरेको उहाँको भनाइ छ । वर्षौंदेखि पक्की सडकको पर्खाइमा रहेका कर्मचोकका स्थानीयको समस्यालाई सम्बोधन गर्दै दुई दिनभित्रै पालिकाका अन्य जनप्रतिनिधि, सरोकारवाला र आफू स्वयम्को लगानीमा बाटो निर्माण कार्य थालनी गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जनप्रतिनिधिले पारदर्शी ढङ्गले सेवा प्रवाह गर्नुपर्छ भन्ने सिद्धान्त बोकेर हिँडेको छु । दलीय स्वार्थभन्दा माथिउठेर स्थानीयको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने चुनावी घोषणा पूरा गर्दै छु,” उहाँले भन्नुभयो, “आन्दोलनका कारण पालिका आर्थिक अभावसँग जुधिरहँदा कैयौँ योजना काट्नुपर्ने अवस्था छ । यस वडाका जनताले वर्षाैंदेखि धुलो खाएर बस्नुभयो । यस पटक जसरी पनि यहाँका नागरिकलाई न्याय दिने अठोटले व्यक्तिगत लगानीबाटै विकासको कार्य अगाडि बढाएको छु ।”
घोषणा कार्यव्रmममा वडाध्यक्ष राजकुमार पाख्रिनले वडा कार्यालय जोडिएकै सडक कच्ची रहँदा स्थानीय वर्षौंदेखि समस्यामा रहेकोे बताउनुभयो । गाउँदेखि मुख्य सडक सञ्जालसम्म जोडिने कैयौँ सडक निर्माणमा निर्वाचित अध्यक्ष कालाखेतीले ठुलो भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।