• ३० कात्तिक २०८२, आइतबार

निर्माणाधीन पुल अलपत्र

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, कात्तिक ३० गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणधीन जराङखोला मोटरेबल पुल लामो समयदेखि अलपत्र छ । काममा देखिएको ढिलासुस्तीका कारण स्थानीय असन्तुष्ट रहेका बेला निर्माणस्थल जराङखोलामा बिहीबार स्थलगत अनुगमन गरी पुनर्निर्माणको काम  अघि बढाउने तयारी गरिएको हो । पुल निर्माण कार्यमा लापर्बाही देखिएको भन्दै गुनासो बढेपछि पूर्वाधार कार्यालय गोरखा, बारपाक सुलीकोट गाउँपालिका र निर्माण कम्पनीका ठेकेदारका प्रतिनिधि पुल निर्माणस्थलमै उपस्थित भएर स्थलगत बैठक गरेका हुन् । 

उक्त बैठकमा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, वडा नम्बर–८ का अध्यक्ष शरण गुरुङ, भीमसेन थापा गाउँपालिका–१, मसेलका अध्यक्ष विकास श्रेष्ठसाथै स्थानीय अगुवाको पनि सक्रिय सहभागिता रहेको थियो ।  बैठकको क्रममा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष भट्टले पुलको निर्माण अत्यावश्यक भएकाले अब ढिलाइ अस्वीकार्य हुने चेतावनी दिँदै स्थानीयको भरोसा कायम राख्नुपर्ने उहाँले बताउनुभयो । 

बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, पूर्वाधार कार्यालय गोरखाका प्रतिनिधि मोहन श्रेष्ठ र निर्माण कम्पनीका तर्फबाट राजेश शाहसहितको बैठकले संयुक्त रूपमा निर्णय गर्दै फागुन मसान्तसम्म सम्पन्न गर्ने सहमति भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । पुल निर्माण रोकिँदा बारपाक सुलीकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवागमनमा ठु्लो समस्या भएकाले निर्माण कम्पनीले अबदेखि निरन्तर काम अघि बढाउनुपर्ने जनप्रतिनिधिको भनाइ छ । 

निर्माणाधीन स्थलमा उपस्थित पूर्वाधार कार्यालय गोरखाका साइट इन्जिनियर मोहन श्रेष्ठसहितको टोलीले पनि रोकिएको काम तत्काल पुनः सुरु गरी तीव्र गतिमा पुल निर्माण सम्पन्न गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । जराङखोला मोटरेबल पुल बारपाक सुलीकोट गाउँपालिका–८ र भीमसेन थापा गाउँपालिका–१, मसेल जोड्ने महत्वपूर्ण पूर्वाधार परियोजना हो ।